Kathmandu Press

बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण

नवलपुर, असार २७ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ। गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ। बर्दघाट–२ स्थित...
बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण

नवलपुर, असार २७ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ। गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ। 

बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिए। यसअघि यहाँका बासिन्दाले टुकीको भरमा जीवन बिताइरहेका थिए। विद्युतीकरणको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गरेका थिए।

नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिए।

उनका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट रु ८५ लाख ९१ हजार २०३ र नगरपालिकाको रु नौ लाख ७८ हजार ७४६ लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३० घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको छ । उनीहरुलाई बिजुली मिटर पनि निःशुल्क जडान गरिएको छ।

प्राधिकरणका अनुसार संसारकोटमा ३।२ किलोमिटर एचटी लाइन निर्माण गरी ७५ थान फलामको पोल प्रयोग गरिएको छ भने एलटी लाइन ०.७५ किलोमिटर निर्माण गर्न १५ थान फलामको पोल निर्माण गरिएको छ। बाँसखोलामा तीन किलोमिटर एचटी लाइन निर्माण गरी ७३ थान सिमेन्टको पोल प्रयोग गरिएको छ भने एलटी लाइन १.१ किलोमिटर निर्माण गरी २० थान सिमेन्टको पोल प्रयोग गरिएको छ।

यस स्थानमा विद्युतीकरणका लागि आवश्यक ट्रान्सफरमरलगायत लाइन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए। विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी देवान गुरुङले बताए। यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही वर्षअघि बिजुलीको पहुँच पुगेको थियो। अब पटुके, बिहारीलगायतका बस्तीमा विद्युतीकरणको सेवा पुग्न बाँकी रहेको उनले बताए।

प्रकाशित मिति: १०:४१ बजे, आइतबार, असार २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्