काठमाडौं उपत्यकामा ८ वर्षमा ४५ हजार दुर्घटना, साढे १३ सयको मृत्यु
काठमाडौं, असार १८ : काठमाडौं उपत्यकामा पछिल्लो आठ वर्षको अवधिमा सडक दुर्घटनामा परी झण्डै साढे १३ सय जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०....
काठमाडौं, असार १८ : काठमाडौं उपत्यकामा पछिल्लो आठ वर्षको अवधिमा सडक दुर्घटनामा परी झण्डै साढे १३ सय जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०६८-०६९ देखि २०७५-०७६ को जेठ महिनासम्मको अवधिमा काठमाडौं उपत्यकामा ४४ हजार ८ सय ६८ सवारी दुर्घटना हुँदा एक हजार तीन सय ४२ जनाले ज्यान गुमाएका हुन्। यो अवधिमा सवारी दुर्घटनामा परी दुई हजार ८८ जना गम्भीर घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महाशाखाको तथ्यांक अनुसार आठ वर्षको अवधिमा सडक दुर्घटनामा एक हजार २० जना पुरुष र ३ सय २२ जना महिलाले ज्यान गुमाएका छन्। आर्थिक वर्ष २०६८-०६९ मा एक सय ४८ जनाको मृत्यु भएको छ भने ३ सय ९६ जना गम्भीर घाइते भएका छन्।
यस्तै, आर्थिक वर्ष २०६९-०७० मा एक सय ४८ जनाको ज्यान गएको महाशाखाले जनाएको छ। उक्त वर्ष २ सय ४६ जना घाइते भएका थिए। यसैगरी, आर्थिक वर्ष २०७०-०७१ मा १ सय ४३ जना, २०७१-०७२ मा १ सय ३३ जना र २०७२-७३ मा १ सय ६६ जनाको मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाका डिएसपी कृष्ण भट्टले जानकारी दिए।
उनका अनुसार आर्थिक वर्ष २०७३-०७४ मा १ सय ८२ र २०७४-७५ मा १ सय ९४ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०७५-७६ को जेठ महिनासम्म २ सय ८८ जनाको मृत्यु भएको डिएसपी भट्टले बताए।
तीब्र गति, चालकको लापरबाही र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए। कतिपय अवस्थामा ओभरटे र पैदल यात्रुकै लापरबाहीका कारण पनि नागरिकको ज्यान जाने गरेको डिएसपी भट्टले बताए।
काठमाडौं उपत्यकामा मोटरसाइकल र स्कुटर बढी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्यांक छ। उपत्यकाका मुख्य चोकमा सवारीसाधन र यात्रुका लागि ट्राफिक लाइटमात्रै राख्न सके सडक दुर्घटनामा कमी आउन सक्ने महाशाखाका डिएसपी कृष्ण भट्टले बताए।
उपत्यकाका मुख्य ३५ चोकमा मात्रै ट्राफिक लाइट जडान गर्न सकिए दुर्घटनाको जोखिम केही मात्रामा भएपनि घट्न सक्ने उनको अनुमान छ।