प्रदेश ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम
काठमाडाैं, असार १८ : प्रदेश नम्बर ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ। सिचुवान प्रान्तका गभर्नर यीनली र प्रदेश नम्बर ५ का मख्यमन्त्....
काठमाडाैं, असार १८ : प्रदेश नम्बर ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ। सिचुवान प्रान्तका गभर्नर यीनली र प्रदेश नम्बर ५ का मख्यमन्त्री शंकर पोखरेलबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीपछि मुख्यमन्त्री पोखरेलले समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरे। त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे।
मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाएका थिए। उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा पनि दिएका छन्। उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु-भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे।
गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा-छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए।
यसैगरी मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका थिए। भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याएको बताए।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु पुगेका हुन्।