रेबिजबाट काभ्रेपलाञ्चोकमा तीनको मृत्यु : सावधानी अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, असार २५ : प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीनजनाको मृत्यु भएको छ। एक महिनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो।
मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।
यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो।
मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो।
दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ।
केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ।
नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।