विभिन्न स्थानमा सातजना मृत अवस्थामा भेटिए
काठमाडौं, असार २५ : काठमाडौंसहित विभिन्न जिल्लामा सातजना मृत अवस्थामा भेटिएका छन्।काठमाडौंको नागार्जुन नगरपालिका–६ जयन्तीगाँउस्थित जंगल भित्रको कुलेसोमा सोही नगरपालिका–६ कसाई चोक बस्ने...
काठमाडौं, असार २५ : काठमाडौंसहित विभिन्न जिल्लामा सातजना मृत अवस्थामा भेटिएका छन्।
काठमाडौंको नागार्जुन नगरपालिका–६ जयन्तीगाँउस्थित जंगल भित्रको कुलेसोमा सोही नगरपालिका–६ कसाई चोक बस्ने २३ वर्षीया सुष्मिता शाही बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
यसैगरी काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भुमार्गस्थित श्री दुर्गा लक्ष्मी गेष्ट हाउसमा धनुषा गणेशमान चारनाथ नगरपालिका–४ घर भएका ४० वर्षीय संजयकुमार जैसवाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१३ खैरेनीस्थित खजुरा खोलाको किनारमा बर्दघाट नगरपालिका–१४ गंगाबस्ती बस्ने ६० वर्षीया सितारानी थारु बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
दोलखाको बैतेश्वर गाउँपालिका–८ मलेपुस्थित तामाकोशी नदीको किनारमा पाँचथर घर भएका ३२ वर्षीय विशाल केरुङ बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।
सिन्धुलीको कमलामाई नगरपालिका–८ करकरेस्थित कमलाखोलाको बगरमा हाल नाम, थर, वतन नखुलेकी करिब ६५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।
नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१७ शिवालय मन्दिर नजिक नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
यी सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











