Kathmandu Press

पहिरामा पुरिएको ११ घण्टापछि शव फेला

तनहुँ, असार २५ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता...
पहिरामा पुरिएको ११ घण्टापछि शव फेला

तनहुँ, असार २५ : तनहुँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो। 

ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिए। ठूलो पहिरा भएकाले धेरैबेर खोजी गर्दा पनि भेटिएको थिएन। 

प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो। बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरा खस्दा पुरेको थियो। 

पहिराले पुरिएर बिहीबार नै ऋषिङ–७ दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ। उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो। घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिराले पुरिएर उनको मृत्यु भएको थियो। 

उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन्। घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिराले पुरिएको स्थानीयवासीले बताएका छन्। 

यस्तै खोलाले बगाएर बेपत्ता हुनुभएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ। 

बाढीपहिराले तनहुँको बन्दीपुर गाउँपालिकाका ७२ घरधुरी विस्थापित भएका छन्। एउटै वडामा ४८ सहित ७२ घर बाढीपहिराबाट विस्थापित भएका हुन्।

बन्दीपुर–२ खहरे, धारापानी, वडा नं ३ रामकोट र वडा नं ५ कल्चोकमा बाढीपहिराले ७२ घर विस्थापित भएका हुन्। 

बाढीले खहरेमा १३ घर पूर्ण क्षति र नौ घर आंशिक क्षति भएको तथा २६ घर उच्च जोखिममा रहेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन्। उनका अनुसार धारापानीमा १२ घर उच्च जोखिम, रामकोटमा सात घर र कल्चोकमा पाँच घर उच्च जोखिममा परेका छन्। 

विस्थापित भएकाहरु कृषि केन्द्र र खहरे आमा समूहको भवनमा आश्रय लिन बाध्य छन्। ‘घरभित्र पानी पसेर कतिपय सामग्रीमा पनि क्षति पुग्यो, बचेका सामग्रीसहित कृषि केन्द्र र खहरे आमा समूहको भवनमा स्थानान्तरण गरेका छौं,’ गुरुङले भनिन्। (रासस)

प्रकाशित मिति: ०७:०३ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्