Kathmandu Press

तनहुँको ऋषिङमा पहिराले पुरिएर एक महिलाको मृत्यु

तनहुँको ऋषिङमा पहिराले पुरिएर एक महिलाको मृत्यु

दमौली, असार २४ : तनहुँको ऋषिङ गाउँपालिका–७ डढीवनमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर ५२ वर्षीया देवीसरा थापाको बिहीबार बिहान मृत्यु भएको वडा सदस्य याम सारु मगरले जानकारी दिए । घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

यस्तै पहिरोले पुरिएर ऋषिङ गाउँपालिका–८ स्थित माझकोटका ४० वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोले डढीवनमा तीन घर क्षतिग्रस्त भएको र थुप्रै घर जोखिममा परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्र आलेले बताए। उनका अनुसार ऋषिङ–५ राम्जाकोटमा एक घर क्षतिग्रस्त र दुई घर जोखिममा परेका छन् भने ऋषिङ–६ मा दुई घर र केही गोठ जोखिममा छन्।

यस्तै ऋषिङ–४ का वडा सदस्य टोलनाथ थापाको घर र पद्मज्योति विद्यालय भवन जोखिममा परेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले वर्षासँगै आएको पहिरोले गाउँपालिकाभित्रका थुप्रै ठाउँमा पहिरो गएको छ।

प्रकाशित मिति: १३:४० बजे, बिहीबार, असार २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्