प्रदेश २ मा आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त
जनकपुर, असार २४ : प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ। प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा...
जनकपुर, असार २४ : प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ।
प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको हो। प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास (धनुषा), अर्जुन मण्डल (धनुषा), रिंकु मिश्र (धनुषा) र बन्दना झा (सर्लाही) लाई नियुक्त गरिएको छ।
त्यस्तै, प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव (सप्तरी) र प्रतिमा चौधरी (बारा)लाई नियुक्त गरिएको छ। प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो। श्यामसुन्दर र शिवहरि सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका छन् भने मोरबैता सिरहा निवासी हुन्।
त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकेको छ।











