विद्यालयका पूर्वप्रधानाध्यापक र दुई पूर्वअध्यक्षविरुद्ध अख्तियारद्वारा विशेषमा मुद्दा
काठमाडौं, असार २२ : कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक दिनेशकुमार विश्वकर्माविरुद्ध विभिन्न शीर्षकमा विद्यालयलाई सरकारले दिएको अनुदान रकम आफूखुसी खर्च गरेर भ्रष्टाचार...
काठमाडौं, असार २२ : कपिलवस्तुको भिल्मीस्थित सरस्वती आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक दिनेशकुमार विश्वकर्माविरुद्ध विभिन्न शीर्षकमा विद्यालयलाई सरकारले दिएको अनुदान रकम आफूखुसी खर्च गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू शकिल मियाँ र नरेन्द्र कुर्मीविरुद्ध पनि आज (बुधबार) मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।
विद्यालयमा शिक्षक भर्ना, पिसिएफ छात्रवृति, पाठ्यपुस्तक, दिवाखाजा लगायतमा आएको रकम दुरुपयोग गरेको भन्ने उजुरी परेपछि त्यसबार अनुसन्धान गर्दा उनीहरूबाट भ्रष्टाचार भएको देखिन आएको अख्तियारले जनाएको छ।
पूर्वप्रधानाध्यापक दिनेश कुमार विश्वकर्माको हकमा बिगो ३,९३,७५ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी गरिएको छ।
त्यस्तै व्यवस्थापन समितिका पूर्वअध्यक्ष मियाँको हकमा बिगो ३,७१,७०१ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को प्रावधानबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको मागदाबी गरिएको छ।
अर्का पूर्वअध्यक्ष कुर्मीलाई बिगो २२,१४९ रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय मागदाबी गरिएको छ।











