Kathmandu Press

‘महिलाले पढ्न नहुने वेदका मन्त्र महिलाले लेखेका छन्’

‘महिलाले पढ्न नहुने वेदका मन्त्र महिलाले लेखेका छन्’

काठमाडौं, असार २३ : महिलाहरूले पढ्न हुँदैन र पुरुषले मात्रै पढ्नुपर्छ भन्ने वेद–दर्शनका कतिपय गलत मान्यता अहिले पनि समाजमा कायम रहेको बताइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१औँ योगमाया स्मृति दिवसका अवसरमा मङ्गलबार आयोजित ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार–गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महिलाहरूले पढ्न नपाउने भन्ने कुरा वेदको सही व्यवस्थापन नभएको बताए। 

उनले भने, ‘कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश वेदको व्याख्या गरिँदा वेद–दर्शनका केही आधारभूत कुराहरू विकृत भएर जान्छन् । त्यसैले यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यताहरू के छन्, कुन पृष्ठभूमिमा ती संरक्षित भए र तिनीहरूको सन्देश के हो भनेर बुझ्न सहयोग पु¥याउँछन् ।’ उनले त्यसको साङ्केतिक महत्वलाई बुझेर मनन गर्न सकेमा हरेक युगमा मानवको जीवनलाई निर्देशित गर्ने प्रकारका कुराहरू वेदमा रहेको विचार व्यक्त गरे।  

प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पौरस्त्य दर्शनका आलोकमा  महिलाको स्थान विशिष्ट, उच्च र सम्मानीत रहेको बताउँदै पहिले पौराणिककालमा मात्रै होइन, अहिले पनि नेपाली समाजमा महिलाको स्थान सम्मानजनक छ। रीतिथितिलाई बुझ्दै हामीले समयअनुसार चल्नुपर्छ। उनले सबैलाई न्याय दिने, मान्य हुने कानून बनाउनुपर्छ भने।

प्रतिष्ठानका सदस्यसचिव एवं दर्शनशास्त्र विभागका प्रमुख प्रा जगत्प्रसाद उपाध्यायले वेदमा महिलाको स्थिति के रहेछ, बौद्धदर्शनमा महिलाको अवस्था के रहेछ र हाम्रो धर्मदर्शनमा महिलाको अवस्था के रहेछ भनेर बुझ्नका लागि कार्यक्रम फलदायी भएको ठहर गरे। उनले वैदिक वाङ्मयमा महिलाको अवस्था सम्मानजनक रहेको उल्लेख गर्दै वेदका मन्त्रका रचयिता पुरुष र महिला दुवै भएकाले पनि महिलाको स्थान उच्च रहेको विचार व्यक्त गरे।   

गोष्ठीमा ‘वैदिक दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डा शुक्रराज अधिकारीले ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त रहेको तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कैयौँ मन्त्र महिलाले नै लेखेको बताए। उनले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’का रूपमा स्थापित भएको बताए। उनले भने, ‘आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो । यही वेद अहिले महिलाले पढ्नुहुन्न भनिन्छ । तर वेदका ४२२ वटा मन्त्रका मन्त्रद्रष्टा नारीहरू तथा ‘ऋषिका’हरू थिए।’

कार्यक्रममा बेलायतबाट भर्चुअल माध्यमबाट भिक्षु कश्यपले ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचोमिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गरे।  प्राडा शशी अधिकारीले ‘धर्म, दर्शन र कानूनमा महिलाको अधिकार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै वैदिककालमा महिलाको स्थान समानता उन्मुख भए पनि आधुनिक युगमा लैङ्गिक समानताका लागि महिलाहरू सङ्घर्षरत रहेको उल्लेख गरिन्। उनले भनिन्, ‘संविधान र कानूनले गरेको व्यवस्थाको कार्यान्वयनका लागि पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म कार्यान्वयन हुन सक्दैन । असमानतालाई हटाउँदै समानता लागू गर्न लैङ्गिक विभेद्कारी सोचमा नै परिवर्तन आउनुपर्ने र सो परिवर्तन नभएसम्म महिलाले पूर्ण अधिकार पाउन कठिन छ।’

डा अधिकारीको गोष्ठीपत्रमाथि साहित्यकार विष्णु प्रभातले टिप्पणी गर्दै महिलाको स्थानमा केही पुरानो वैदिक, उत्तर वैदिक वा ऋग्वेदको कुरा जोड्दा तीन–चारवटा प्रथा जोड्न पर्ने बताएका थिए। यसैगरी भिक्षु कश्यपको ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्रमाथि प्राडा रञ्जना बज्राचार्यले र प्राडा शशी अधिकारीद्वारा प्रस्तुत ‘धर्म, दर्शन, कानून र महिला’ विषयक गोष्ठीपत्रमाथि संविधानसभा सदस्य डा विन्दा पाण्डेले टिप्पणी गरेका थिए। गोष्ठीमा संविधानसभा सदस्य प्रभा बज्राचार्य, निवर्तमान सङ्घीय सांसद विद्या भट्टराई तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाले ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयमाथि विचार व्यक्त गरेकी थिइन्। रासस
 

प्रकाशित मिति: १२:२० बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्