तीन वर्षे बालकका लागि कलेजोदाताको खोजी
काठमाडौं, असार २३ : एक्युट लिभर फेलियर भएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार तीन वर्षीय बालकका लागि कलेजोदाताको खोजी भइरहेको छ। तीन वर्षीय छोरा दर्शित...
काठमाडौं, असार २३ : एक्युट लिभर फेलियर भएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार तीन वर्षीय बालकका लागि कलेजोदाताको खोजी भइरहेको छ।
तीन वर्षीय छोरा दर्शित जंग रावलको ज्यान जोगाउन कलेजो दान गर्ने मान्छे खोजिरहेको उनका बुवा दिनेशले बताए। ‘छोराको कलेजो प्रत्योरोपण गर्नुपर्ने भएको छ, त्यसका लागि दान गर्ने मान्छे खोजिरहेको छु,’ उनले भने।
दर्शितलाई एक्युट लिभर फेलियर भएको अस्पतालले जनाएको छ। उनको कलेजो प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन्।
त्यसका लागि उनको परिवारजनका मानिस कलेजो दान गर्न तयार भएका थिए। तर, परिवारजनको कलेजो उपयुक्त नदेखिएपछि अप्ठ्यारोमा परेको उनका बुवा दिनेशले बताए।
चिकित्सकले ‘ओ पोजिटिभ’ रगत समूह भएको दाता चाहिने बताएका छन्। परिवारमा त्यस्तो रगत समूह भएको मान्छे नभएको दिनेशले बताए।
‘डाक्टरले १५ दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्छ भनेका छन्। कलेजो दान गरेर तीन वर्षीय छोराको ज्यान बनाउन सहयोग गर्न आग्रह गर्दछु,’ दिनेशले भने।
दर्शितलाई कलेजो दान गरेर सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नं. ९८०२०९६३२६ मा सम्पर्क गर्न उनका बुवाले अनुरोध गरेका छन्।











