तीनजना मिलेर चक्कु हानी थानकोटमा एकको हत्या, २४ घन्टाभित्रै पक्राउ
काठमाडौं, असार २२ : काठमाडौको चन्द्रागिरि नगरपालिका-३ स्थित थानकोटमा युवकको हत्यामा संलग्न तीनजनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ।पक्राउ पर्नेमा सोमलाल...
काठमाडौं, असार २२ : काठमाडौको चन्द्रागिरि नगरपालिका-३ स्थित थानकोटमा युवकको हत्यामा संलग्न तीनजनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-३ का सोमलाल गोपाली, मकवानपुरको दामन-९ घर भई चन्द्रागिरि-१ दहचोक बस्ने मनोज दोङ र चन्द्रागिरि-३ कै साहिल गोपाली रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले हिजो (आइतबार) साँझ महोत्तरीको जलेश्वर नगरपालिका-२ का २० वर्षीय जितेन्द्र साहको हत्या गरेका थिए। उनी चन्द्रागिरि–३ थानकोटस्थित मंगलोदय स्कुलनजिक बस्दै आएका थिए।
महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर हत्याबारे जानकारी गराएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले तीनजना मिलेर घाँटी र ढाडमा चक्कु प्रहार गरेको खुल्न आएको बताए।
मोबाइल फोनमा प्रयोग हुने मेमोरी कार्डको विषयमा विवाद हुँदा साहमाथि चक्कु प्रहार भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ। तर हत्याको खास कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जनाइएको छ।











