स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बिपी प्रतिष्ठान संघर्ष समितिबीच वार्ता

धरान, असार २२ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएको चिकित्सकको टोलीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिसँग छलफल गरेको छ।
मन्त्रालयबाट आएका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र डा. मदन उपाध्यायसँग संयुक्त संघर्ष समितिले आफ्ना मागहरु प्रस्तुत गरेको छ।
सरकारले औपचारिक वार्ता टोली गठन नगरेकाले स्वास्थ्य मन्त्रालयका प्रतनिधिसँग भएको वार्ता अनौपचारिक भएको संघर्ष समितिको भनाइ छ। तथापि सो समितिले आफ्ना १२ बुँदे माग मन्त्रालयको टोलीसमक्ष पेस गरेको छ।
आफूहरूले उठाएका १२ बुँदै मागसँगै प्रतिष्ठानमा देखिएका समस्याको अल्पकालीन एवम दीर्घकालीन समाधानको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्ने उच्चस्तरीय वार्ता टोली अविलम्ब गठन गरिनुपर्ने आन्दोलनरत पक्षको माग छ। त्यसका लागि प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले अग्रसरतामा लिनुपर्ने समितिको भनाइ छ।
यसैगरी असार १५ गते उपकुलपतिले वार्तामा बोलाएर आफैं मादक पदार्थ सेवन गरी आएको विषयलाई तत्काल सम्बन्धित निकायले छानविन गरी कारबाहीको प्रकृया अगाडि बढाउनुपर्ने पनि संघर्ष समितिको माग छ।
स्वास्थ्य एवं शैक्षिक संस्थाहरुमा पदाधिकारी नियुक्ति मापदण्ड सार्वजनिक गर्नुपर्ने, नियुक्त पदाधिकारी कुन मापदण्डबाट र के के प्रतिज्ञा गरी छनोट गरिएको भन्ने कुरा सार्वजनिक गर्ने व्यवस्था तत्काल गर्नुपर्ने पनि माग राखिएको छ।
छनोट भएका पदाधिकारीले गरेका प्रतिज्ञा पूरा भएकोनभएको हरेक ६–६ महिनामा सम्बन्धित निकायले सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने पनि माग राखिएको छ।
समितिले आफ्ना माग पूरा नभए थप कडा कार्यक्रम सार्वजनिक गर्ने चेतावनी पनि दिएको छ।












