प्रचण्डद्वारा माओवादी नेता महादेव यादवको निधनप्रति दुःख व्यक्त
काठमाडौं, असार २२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुख व्यक्त गरेका छन् ।आज (मंगलबार) एक...
काठमाडौं, असार २२ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति दुख व्यक्त गरेका छन् ।
आज (मंगलबार) एक शोक वक्तव्य जारी गर्दै प्रचण्डले नेता यादवको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील कमरेड गुमाएको र पार्टीले समर्पित सहकर्मी गुमाएको बताएका छन्। ‘कमरेड यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको छ,’ शोक वक्तव्यमा उल्लेख छ।
जनयुद्धमा सक्रियतापूर्वक सहभागी यादव सरल, जुझारु र क्रान्तिकारी योद्धा रहेको पनि प्रचण्डले उल्लेख गरेका छन्।
‘आन्दोलजप्रतिको समर्पण, वर्गीय मुक्ति, देशभक्ति र निजी स्वार्थको तिलाञ्जलीजस्ता दिवंगत कमरेड यादवका आदर्श पक्ष कम्युनिस्ट आन्दोलनका लागि प्रेरणादायी र अनुकरणीय हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ।
५७ वर्षको उमेरमा धनुषाको जनकपुरस्थित आफ्नै निवासमा सोमबार बेलुका यादवको निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर पीडित थिए । उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।
२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका उनले २०४८ सालमा जागिर छोडेर तत्कालन जनमोर्चाको तर्फबाट बालबाखर गाविस (हाल सहिद नगरपालिका–१०) का उपाध्यक्ष बनेका थिए।











