Kathmandu Press

उपत्यकामा खुकुलाे बनाएर थपिएको निषेधाज्ञा आजदेखि लागू

उपत्यकामा खुकुलाे बनाएर थपिएको निषेधाज्ञा आजदेखि लागू

काठमाडौं, असार २२ : काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ। आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ। सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्र्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन ।

स्थानीय प्रशासनको अनुमतिमा विशेष कामका लागि बाहिरका सवारी साधानसमेत भित्रिने पाउने व्यवस्था यसपालि छ । आदेशमा भीडभाड हुने बाहेकका अधिकांश व्यवसाय साँझ ६ बजेसम्मका लागि खुला गरिएको छ । सभा, सम्मेलन, सिनेमा हल, होटल, पार्टी प्यालेसलगायत दर्शकसहित भीडभाड हुने सबै प्रकारका गतिविधिमा भने पूर्ण रोक लगाइएको छ । यस्तै पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायत सामूहिकरूपमा गरिने कार्यक्रम, नित्य पूजाबाहेक सबै धार्मिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठपाठनका गतिविधिसमेत गर्न पाइने छैन।

स्थानीय ढुवानीका साधन बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने तर औषधि तथा स्वास्थ्य सामग्री पसल जुनसुकै बेला खुला रहनेछ। अत्यावश्यक वस्तुको अनलाइन ‘अर्डर’, रेष्टुरेन्ट तथा फाष्टफुड एवं अन्य अर्डरको टेकअवे र होमडेलिभरी साँझ ७ बजेसम्म गर्न पाइने छ।

सफा टेम्पो र तथा निलो माइक्रोबसलाई पछाडिको तेर्सो सिटमा चार÷चार र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्न भनिएको छ। गाडीको बीचमा दुइतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउनु पर्नेछ। सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका सवारी साधान बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्नुपर्ने छ।

पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा शर्त पालना गरी सञ्चालन गर्न सकिने छ। त्यसरी परीक्षा सञ्चालन गर्दा हल तथा कोठाको आधारमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ । गोष्ठी, सेमिनार, बैठक, प्रशिक्षणजस्ता कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने आदेशमा उल्लेख छ।
 

प्रकाशित मिति: १०:५६ बजे, मंगलबार, असार २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्