Kathmandu Press

ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी, २१ असार : सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ। यहाँ भित्रिएको ब्याण्ड...
ब्याण्ड बाजा भित्रिएपछि दमाहा लोप हुने खतरा

डोटी, २१ असार : सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ। यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ। 

विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजाआजाका बेला अनिवार्यरुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको हो । दमाहा बाजाको छुट्टै महत्व रही आएको भए पनि यसको प्रयोगमा युवापुस्ताले चासो नदिँदा दमाहा बजाउने पेशा पनि सङ्कटमा पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीयवासी दीर्घबहादुर बोगटीले बताए। 

‘बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्,’ उनले भने, ‘हिजोआज यो बाजाको प्रचलन नगण्य मात्रामा मात्र देखिने गरेको छ।’ जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँघरबाटसमेत क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ।

Hardik ivf

सुदूरपश्चिम क्षेत्र कला–संस्कृतिमा धनी छ । त्यसैले यस प्रदेशले आफ्नो मौलिक कला र संस्कृति जोगाउने प्रयत्नलाई जारी नैै राखेको भए पनि पछिल्लो समय दमाहा बाजा भने क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको यहाँका ज्येष्ठ नागरिक बताउँछन्। 

सुदूरपश्चिमका नेपाली (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन परापूर्वकालदेखि चल्दै आएको छ। यो बाजा निर्माण गर्ने काम लुहार तथा सजाउने (बखर्ने) काम भने सार्की थरका व्यक्तिले गर्ने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाहका शङ्कर नेपालीले बताए। 

यस समुदायका युवा अहिले भने यो बाजा बजाउने पेशातर्फ आकर्षित छैनन् । जसका कारण दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जयराज जोशीले बताए। ‘दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ,’ उनले भने । यसलाई लोप हुनबाट जोगाउनुपर्ने उनको धारणा छ । 

बाह्य संस्कृति भित्रिँदै र स्थानीय कलासंस्कृति लोप हुँदै गरेको यस अवस्थामा नयाँ पुस्तालाई जानकारी गराउनका लागि पनि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने कार्यक्रम एवं मेला–महोत्सवमा दमाहा बाजा बजाउने र यससम्बन्धी सीप सिकाउने कार्यक्रको आयोजना गर्नुपर्ने डोटीका गायक तथा कलाकार सूर्यविरही साउदले बताए। 

उनले भने, ‘बाहिरी कला संस्कृति भित्र्याउनुभन्दा आफ्नै संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने सन्देश अहिलेको पुस्तालाई दिनुपर्छ।’ दमाहा बाजा बजाउने समुदायका युवापुस्ता भने दमाहा या पञ्चे बाजामा प्रतिष्ठा, पारिश्रमिक र भविष्य नदेखेको बताउँछन् । स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको उनीहरु बताउँछन् । 

आधुनिक बाजा भित्रिएका कारण आफूहरुले पुर्खौंदेखि बजाउँदै आएको दमाहा बाजा लोप हुने अवस्थामा पुगेको जोरायल गाउपालिका–५ का दमाहा बाजा बजाउने धनीराम नेपालीले बताए। उनले भने, ‘जमाना नै आधुनिक बाजाको पछि लाग्यो, हाम्रो बाजा कसैले मगाउँदैनन्, बाजा नै सङ्कटमा पर्दै गएको छ।’ 

पञ्चेबाजा बोलाए रु ४० देखि ५० हजार तथा साना बाजा बोलाए रु २० देखि २५ हजार लिने गरेको दिपायल राजपुरका अर्का स्थानीयवासी तेजबहादुर विष्टले बताए। उनले भने, ‘अन्य बाजाभन्दा हाम्रो बाजा सस्तो भए पनि संरक्षण नहुँदा समस्या भएको छ, सबै गाउँपालिकाले आफ्नो ठाउँमा भएका दमाहा बाजा संरक्षण गर्नु जरुरी भएको छ ।’ 

दमाहा बाजा नेपाली बाजा हो । यो बाजाको पिँधतिर सानो र मुखतिर फुकेको या ठूलो हुन्छ । तामाको भाँडोलाई भैँसीको छालाले मोहोरिएको बाजालाई सुदूरपश्चिम प्रदेशमा दमाहा नामले चिनिन्छ । यसलाई गजो अर्थात् लौरोले हानेर बजाइने गरिन्छ । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । यो पञ्चैबाजा समूहको ताल बाजाका रूपमा लिइन्छ । यसलाई प्रायः घाँटीमा झुण्ड्याएर बजाउने गरिन्छ । 

पानीले दुई दिनजति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गड्सेराका स्थानीयवासी जोगीसिंह सार्कीले बताए। उनले भने, ‘मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ र आवाज पनि बढी आउछ।’ 

सुदूरपश्चिममा हुने हरेक शुभकार्यलगायत अन्य कार्यक्रममा गाउँघर नै गुञ्जायमान हुनेगरी विभिन्न ताल र शैलीमा उक्त दमाहा बाजा बजाउने चलन रहेको दिपायलका स्थानीय तथा समाजसेवी घनश्याम पाठकले बताए। उनले भने, ‘हामीले जस्तोसुकै शुभकार्य गरे पनि दमाहा बाजा नभइकन हुँदैन यसको संरक्षण गर्नु जरुरी भएको छ।’            

सुदूरपश्चिम नेपालको कलासंस्कृतिसँग जोडिएको दमाहा बाजा र दमाहा बजासँगै जोडिएको नाच अहिले एकाध स्थानमा मात्र देख्न र बजेको सुन्न पाइन्छ । सुदूरपश्चिम नेपालका अधिकांश समुदायमा मन्दिरमा देवी देवाताको पूजापाठ गर्दा होस् अथवा विवाह, ब्रतबन्ध, न्वरान जस्ता शुभकार्य गर्दा दमाहा बाजा अनिवार्य बजाउनुपर्ने परम्परागत मान्यता रहेको छ। 

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा सुदूरपश्चिमको कला संस्कृतिको पहिचान गराउने दमाहा बाजा लोप हुन थालेपछि यसको संरक्षण गर्ने अभियान सुरु गरेको बताउँछछन्। यसबारेमा नयाँ पुस्तालाई जानकारी गराउनको लागि समयसमयमा स्थानीय कलासंस्कृति झल्किने मेला–महोत्सवको आयोजना गरी परम्परागत बाजा तथा नाचलाई प्रोत्साहन गरिनुपर्ने उद्योग बाणिज्य सङ्घ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताए। 

उनले भने, ‘पुराना कलासंस्कृति र यहाँका पुराना बाजाको निकै महत्व भएकाले सुदूरपश्चिम चिनाउने संस्कृति र बाजा संरक्षणमा हामी सबै जुट्नुपर्ने बेला आएको छ।’ दमाहा बाजाको तालमा नाचिने सुदूरपश्चिमका प्रसिद्ध नाच छलिया, ढुस्को, धमारी, चैतलगायतका मौलिक नाच पनि लोप हुने खतरा देखिएको छ । यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । बालिघरे प्रथाका रुपमा पहिले दमाहा बजाएवापत अनाज अर्थात् खाद्यान्न दिने परम्परा रहेको दिपायल राजपुरका ५० वर्षीय स्थानीय सन्तकुमार नेपालीले बताए । 

उनले भने, ‘हाम्रो पालामा दमाहा बजाएवापत अन्न लिने चलन थियो, अहिले ब्याण्ड बाजा भन्छन्, तालसुर केही हुँदैन तर चर्को स्वरमा बजाउँछन् र पैसा लिन्छन् ।’ संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा पञ्जेबाजमा सबैभन्दा बढी दमाहा बाजालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान् शिवले डमरुसँगै दमाहा बाजालाई पनि मन पराएपछि त्यतिबेलादेखि नै यसको प्रचलन बढेको किंवदन्ती रहेको जोशीले बताए। रासस
 

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, असार २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्