डाइभर्सन निर्माणपछि नारायणगढ–बुटवल सडक सञ्चालन
चितवन, असार १९ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सडक सञ्चालनमा आएको...
चितवन, असार १९ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० स्थित २३ स्मृति पुलमा डाइभर्सन निर्माण गरिएपछि सडक सञ्चालनमा आएको हो। अविरल वर्षाका कारण हिजो बिहान आएको बाढीले सडकमा निर्माण गरिएको डाइभर्सन बगाउँदा सवारी साधन अवरुद्ध भएका थिए।
पुनः सञ्चालनमा आएपछि राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यमा पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले जानकारी दिए।
सडकमा सामान्य अवस्थामा नै सवारीसाधन सञ्चालन भइरहेको उनको भनाइ छ। नारायणगढ बुटवल सडक विस्तारका क्रममा गैँडाकोट क्षेत्रमा रहेका पुराना पुल हटाएर नयाँ मोटरेबल पुल बनाउनका लागि विभिन्न स्थानमा सडकमा डाइभर्सन गरिएको छ।
गैँडाकोट क्षेत्रमा सात ठाउँमा नयाँ पुल बनाउने क्रमसँगै डाइभर्सन निर्माण गरिएकोमा तीन वटा पुल निर्माण अन्तिम चरणमा पुगेका छन्। (रासस)











