Kathmandu Press

दमकको बजेटको नारा : ‘निरोगी सहर’देखि ‘मनमोहन भत्ता’सम्म

झापा, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना...
दमकको बजेटको नारा : ‘निरोगी सहर’देखि ‘मनमोहन भत्ता’सम्म

झापा, असार १७ : प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकलाई स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन विकासका दृष्टिले मुलुककै नमूना बनाउन लोभलाग्दा नीति तथा योजना अघि सारिएको छ।

नगरको वर्तमान जनप्रतिनिधिको कार्यकालको अन्तिम बजेट भएको हुँदा यसअघिका सबै अधुरा विकासे परियोजना नयाँ आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ विकास निर्माणमा बजेट विनियोजन गरिएका छन्।

निरोगी सहर दमक

Hardik ivf

दमक नगरपालिकाले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को वार्षिक नीति तथा बजेटमा नगरलाई ‘निरोगी सहर’ बनाउने प्रण गरिएको छ।

पच्चीस शय्यामा सञ्चालन भइरहेको दमक अस्पताललाई आगामी आवमा ५० शय्यामा विस्तार गरिने र त्यसको सञ्चालनमा लाग्ने ११ करोड रूपैयाँ नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोर्ने नगर उपप्रमुख गीता अधिकारीले बताइन्।

कोभिड-१९ को संक्रमणबाट नगरबासीलाई जोगाउन विपद् व्यवस्थापन कोषमा रु दुई करोड ५० लाख बजेट छुट्याइएको र अग्रपङ्क्तिमा रही काम गर्दै आएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुविधा र प्रोत्साहन दिइने उनले बजेटमा उल्लेख गरेकी छन्।

घरमै सुत्केरी गराउने कार्य शून्यमा पुर्‍याउने लक्ष्य लिएर सुत्केरीलाई अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था नगरपालिकाले मिलाउने भएको छ। अशक्त र ज्येष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा घरघरमै पुर्‍याइने जनाइएको छ।

महिलाको पाठेघर र स्तन क्यान्सर परीक्षणका लागि निःशुल्क व्यवस्था मिलाइएको र विपन्न, दलित तथा आदिवासी जनजातिका लागि मुटु, मिर्गौला र क्यान्सरसम्बन्धी रोगको उपचारमा नगरपालिकाले आर्थिक सहायता प्रदान गर्ने नीति लिएको उपप्रमुख अधिकारीले बताइन्।

नगरबासीलाई निःशुल्करूपमा कोरोनाविरूद्धको खोप छिटो लगाउन संघीय र प्रदेश सरकारसँग पहल गर्ने तथा नयाँ आवमा ७०० गरिब परिवारको स्वास्थ्य बीमा गराउन लाग्ने शुल्क नगरपालिकाले व्यहोर्ने भएको छ।

महिला स्वास्थ्य स्वयंसेविकालाई ६० वर्षे उमेर हद पूरा गरेपछि एकमुष्ठ रु ६० हजार निवृत्तिभरण उपलब्ध गराउने बजेटमा उल्लेख गरिएको छ।

नगरपालिकाले नगरभित्रका सञ्चार माध्यममा कार्यरत सबै पत्रकारको स्वास्थ्य बीमा गरिदिने र सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराएर मासिक रकम प्रदान गर्ने भएको छ।

‘कच्ची सडकमुक्त’ नगर दमक 

नगरभित्रका सबै कच्ची सडकलाई आउँदो आवभित्रै ग्राभेल गरिसकेर नगरलाई ‘कच्ची सडकमुक्त’ बनाउने नगरपालिकाको महत्वाकांक्षी योजना छ।

नगर प्रोफाइलअनुसार दमक क्षेत्रभित्र अझै पनि १९ दशमलव ४७ प्रतिशत परिवार सहज प्रकारको सडक पहुँचमा छैन। नगरभित्र ग्राभेल सडक ३२० किलोमिटर, पक्की सडक ५५ किलोमिटर र कच्ची सडक १४३ किलोमिटर रहेको छ।

उपप्रमुख अधिकारीका अनुसार आव २०७८र७९ को बजेट कार्यान्वयन भइसक्दा नगरका सबै कच्ची सडक ग्राभेल भइसक्ने छन् भने सहज प्रकारको सडकको पहुँचमा सबै नगरवासीलाई पुर्‍याउने कार्य सम्पन्न हुनेछ।

नयाँ बजेटमा २०० किलोमिटर सडकलाई ग्राभेल, २० किलोमिटर ग्राभेलको मर्मतसम्भार र १० किलोमिटर सडक पक्की तथा कालोपत्र गरिने भनिएको छ।

नगरपालिकाले सडक पूर्वाधार विकासका लागि आव २०७८र७९ का लागि रु ५२ करोड १० लाख ७६ हजार बजेट विनियोजन गरिएको र रु चार करोड वडागत बजेटको व्यवस्था गरिएको छ।

‘मनमोहन भत्ता’को सुरूआत

संघीय सरकारले सामाजिक सुरक्षा भत्ता दिएजस्तै दमक नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकालाई वार्षिक रु दुई हजारका दरले ‘मनमोहन अधिकारी स्मृति सामाजिक सुरक्षा भत्ता’ प्रदान गर्ने भएको छ।

ज्येष्ठ नागरिकको मोतियाविन्दु र प्रोस्टेटको उपचार नगरपालिकाले निःशुल्करूपमा गरिदिने भएको छ भने सबै वडामा ज्येष्ठ नागरिकको भेटघाट र बसिबियाँलो गर्ने थलोका रूपमा ज्येष्ठ चौतारी निर्माण गरिने जनाइएको छ।

नगरभित्र सञ्चालित निजी अस्पताल, स्वास्थ्य क्लिनिक, होमियो र आयुर्वेदिक क्लिनिकमा परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण निःशुल्क बनाइने भएको छ। रासस

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, असार १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्