चितवनमा कयरखोलाले बगाएका दुई जनाको उद्धार
चितवन, असार १७ : पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ। भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक...
चितवन, असार १७ : पूर्वी चितवनको कयरखोलाले बगाएका दुई व्यक्तिको सकुशल उद्धार गरिएको छ।
भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको स्कुटर कयरखोलाको बाढीले बगाउँदा स्कुटरमा सवार एक पुरुष र एक महिलालाई पनि बगाएको थियो ।
खोलाले स्कुटरसहित मान्छे बगाएपछि इलाका प्रहरी कार्यालय टाँडीको टोलीले उद्धार गरेको हो।
स्कुटर भने खोलाले बगाएको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ। उनीहरुलाई खोलाले आज बिहान ८ः३० बजे बगाएको थियो । खोलाबाट उद्धार गरेसँगै उनीहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
१७० परिवारलाई स्थानान्तरण
निरन्तरको वर्षाका कारण पूर्वी चितवनको पंफाखोलामा आएको बाढीका कारण राप्तीका १५० घरधुरी विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार राप्ती नगरपालिका वडा नं ७ र ८ का भवानीपुर, सुन्दरबस्ती र खुरखुरेलगायत क्षेत्रका बस्तीमा खोला पस्दा ती परिवार विस्थापित भएका हुन् ।
बाढीको जोखिममा रहेका उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । त्यहाँ रहेका ४०० जनालाई सुरक्षित ठाउँमा सारिएको हो । यस्तै बूढी राप्तीमा आएको बाढीले डुबान गर्दा २० परिवार विस्थापित भएका छन् । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार रत्ननगर नगरपालिका–८ रमाइलोडाँडामा बाढी पस्दा २० परिवारका १०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
चट्याङ लागेर घाइते
चट्याङ लागेर एक महिला घाइते हुनुभएको छ । राप्ती नगरपालिका–९ लालपुरकी ४५ वर्षीया बिजुली श्रेष्ठलाई आफ्नै घर नजिक धान रोप्ने क्रममा चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय भण्डाराका अनुसार बिहान ८ः३५ बजे श्रेष्ठलाई चट्याङ लागेको हो । गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि भरतपुर ल्याइएको छ।
दुई महिनापछि उडान गर्दै भरतपुर विमानस्थल
दुई महिनादेखि बन्द अवस्थामा रहेको भरतपुर विमानस्थलले आजदेखि उडान शुरु गर्ने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण निषेधाज्ञासँगै बन्द भएका यहाँको उडान पुनः शुरु गर्न लागिएको हो ।
विमानस्थल प्रमुख योगेन्द्र कुँवरले कोभिड नियन्त्रणको सुरक्षा मापदण्ड कार्यविधिअनुसार विमानस्थलमा उडान शुरु गर्न लागिएको जानकारी दिए । स्थानीय प्रशासनले गत वैशाख १६ गते रातिदेखि निषेधाज्ञा गरेसँगै बन्द भएको उडान आजबाट शुरु गर्न लागिएको हो ।
उनले मास्क, भाइजर, सामाजिक दूरी कायम गर्नुपर्ने, डिस इन्फेक्सन गरेर मात्रै उडान गर्नुपर्ने जानकारी दिए। शुरुआती समयमा उडान कम हुने उनले बताए। भरतपुर विमानस्थलमा यात्रुलाई बस्नका लागि बनाइएका प्रतिक्षालयमा सामाजिक दूरी कायम गर्नका लागि सन्देशमूलक चिह राखिएको उनको भनाइ छ।
निषेधाज्ञाअघि विमानस्थलबाट आठ सयदेखि एक हजारसम्म यात्रु दैनिक आवतजावत गर्ने गरेको उनले बताए। बुद्ध एयर भरतपुरका प्रबन्धक भक्त बस्नेतले आजदेखि शुरु गर्न लागिएको उडान कटौती गरिएको जानकारी दिए।
दैनिक छ वटासम्म चितवन–काठमाडौं उडान हुँदै आएकामा अहिले तीन मात्र उडान हुने उनले बताए। उनका अनुसार स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी उडान गरिने छ । त्यसका लागि तयारी गरिएको बस्नेतको भनाइ छ । यसअघि बुद्धसँगै भरतपुरबाट यती एयरलाइन्सले दैनिक चारसम्म उडान भर्दै आएको थियो।
निषेधाज्ञा असार २४ गतेसम्म
कोभिड सङ् क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्लामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ः०० बजे सकिँदै थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदेश जारी गर्दै निषेधाज्ञाको अवधि एक साताका लागि थप गरी यही असार २४ गतेसम्म पुर्याएका हुन्।
हाल जारी रहेकै नमूनामा नै निषेधाज्ञा हुने आदेशमा जनाइएको छ। यसअघि यही असार १० देखि १७ गते राति १२ः०० बजेसम्मका लागि घोषणा गरिएको नमूनामा निषेधाज्ञा जारी राखिने आदेशमा उल्लेख छ।
आदेशमा शुक्रबारदेखि सबै सरकारी कार्यालयमा सेवाप्रवाह हुने भनिएको छ। निषेधाज्ञालाई खुकुलो बनाउँदै प्रशासनले यस्तो निर्णय गरेको हो।
जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्ने सुनिश्चितता गरी सेवा प्रवाह गर्न निर्देशन दिइएको लामिछानेद्वारा जारी आदेशमा जनाइएको छ।
रासस











