Kathmandu Press

बीपी प्रतिष्ठान धरान : पदाधिकारी कार्यालयमा तालाबन्दी

धरान, असार १६ : विभिन्न माग राख्दै दुई सातादेखि आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी...
बीपी प्रतिष्ठान धरान : पदाधिकारी कार्यालयमा तालाबन्दी

धरान, असार १६ : विभिन्न माग राख्दै दुई सातादेखि आन्दोलनमा उत्रिएको संयुक्त संघर्ष समितिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेको छ।

प्रतिष्ठानका विभिन्न पेसागत संगठन, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीले विभिन्न माग राख्दै संघर्ष समिति गठन गरी असार १ देखि उपकुलपति कार्यालय अगाडि धर्ना र विरोधसभा गर्दै आएका छन्। 

प्रतिष्ठानको आयव्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक साता सार्वजनिक सुनुवाइ गर्नुपर्नेलगायत विभिन्न माग राख्दै उनीहरूले आज (बुधबार) उपकुलपति, रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा तालाबन्दी गरेका हुन्।

संघर्ष समितिले प्रतिष्ठानका पदाधिकारी असक्षम एवं गैरजिम्मेवार भएको बताउँदै स्वास्थ्यमन्त्री अथवा प्रधानमन्त्रीकै अग्रसरतामा उच्चस्तरीय वार्ता टोली बनाउनुपर्ने माग पनि अघि सारेको छ। 

पदाधिकारीहरु चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरुले दिएको सुझावका आधारमा बनाइउको विज्ञहरुको समूहले सिफारिस गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाउन पनि आन्दोलनरत पक्षको माग छ।

मंगलबार संघर्ष समितिसँग वार्ता गर्ने तय भए पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएपछि वार्ता भाँडिएको संघर्ष समितिले जनाएको छ।

वार्तामा उपकुलपति डा. गिरीसँगै रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल, रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा. दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा. प्रमोद बराल, सिनेटर पशुपति चौधरीलगायतको उपस्थिति थियो।

संघर्ष समितिले एक साताभित्र आफुहरूको माग माग पूरा नभए सम्पुर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक विद्यार्थीहरुले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति: १५:३८ बजे, बुधबार, असार १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्