यात्रुसँग बढी भाडा असुल्ने आठजना पक्राउ
काठमाडौं, असार १६ : यात्रुसँग बढी भाडा असुल गरेको भन्दै बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले आठजनालाई पक्राउ गरेको छ। यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिनेमध्ये...
काठमाडौं, असार १६ : यात्रुसँग बढी भाडा असुल गरेको भन्दै बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले आठजनालाई पक्राउ गरेको छ।
यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिनेमध्ये नयाँ बसपार्कबाट ६ र कोटेश्वरबाट २ जनालाई पक्राउ गरेको महाशाखाका प्रमुख जनक भट्टराईले जनाएका छन्।
पक्राउ पर्नेमा ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहामगर, दाङका ३५ वर्षीय सन्तोष दमाई, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। नयाँ बसपार्कबाट नियन्त्रणमा लिइएका उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।
यस्तै काठमाडौंबाट बा१६च २१८४ नम्बरको निजी गाडीमा उदयपुरसम्म लैजान भनी यात्रुसँग भाडा लिएको आरोपमा कोटेश्वरबाट उदयपुरका २९ वर्षीय राकेश रसाइली र ना१ज ७०२९ नम्बरको टाटा सुमोमा चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएका २५ वर्षीय झनकबहादुर घिमिरे पक्राउ परेका हुन्।
उनले प्रतियात्रु तीन हजार रूपैयाँका दरले भाडा लिएको पाइएको महाशाखाले जनाएको छ। निषेधाज्ञापछि अहिलेसम्म उपत्यका बाहिर जाने यात्रुसँग आठ गुणा बढीसम्म भाडा लिएका ६१ जना काउन्टरका कर्मचारीहरुलाई पक्राउ गरीसकेको महाशाखाले जनाएको छ।
तोकिएको भन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत महाशाखाले अनुरोध गरेको छ।











