Kathmandu Press

८७ ग्राम अवैध लागूऔषधसहित ४ जना पक्राउ

८७ ग्राम अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाडौं, असार १४ : अवैध लागूऔषधसहित प्रहरीले आइतबार पोखरामा ४ जनालाई पक्राउ गरेको छ ।

संघीय प्रहरी इकाई कार्यालयको लागूऔषध नियन्त्रण सेलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको छ । चेकजाचको क्रममा उनीहरुलाई पोखरा–१३ बाझापाटनबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको इकाई प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

रावतका अनुसार पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–२ भोर्लेका ३४ बर्षिय विशाल परियार, पोखरा–१३ बाझापाटनका २६ बर्षिय पुकार गुरुङ, पोखरा–१७ ड्यामसाईडका ३० बर्षिय अभिसेक गुरुङ र भारत नौतनहवा घर भई पोखरा–८ न्यूरोड बस्ने ४२ बर्षिय बसी उल्लाह रहेका छन् ।

प्रहरीले उनीहरुसहित ८७ ग्राम ब्राउनसुगर, नर्फिन इन्जेक्सन ८ एम्पुल, फेनेरागन इन्जेक्सन ८ एम्पुल, डाईजापाम इन्जेक्सन ८ एम्पुल गरी जम्मा २४ एम्पुल र ब्राउन सुगर जोख्न प्रयोग गर्ने २ थान डिजिटल तराजु र ४ थान मोबाइल सेट नियन्त्रणमा लिएको छ ।

विशालको साथबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम र डिजिटल तराजु १ थान नियन्त्रणमा लिएको छ भने, अभिसेकको साथबाट ब्राउनसुगर ५ ग्राम, नर्फिन ८ एम्पुल, फेनेरागन ८ एम्पुल, डाईजापाम ८ एम्पुल र उल्लाहको साथबाट ब्राउन सुगर ७३ ग्राम र एउटा डिजिटल तराजु बरामद गरेको प्रहरी निरीक्षक रावतले बताए ।

चारैजनालाई सोमबार जिल्ला अदालतमा लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०:२१ बजे, मंगलबार, असार १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्