प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान
काठमाडौं, असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका...
काठमाडौं, असार १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।
जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउन्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गर्नुभएको हो।
कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही १ लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो।
कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएकोे फाउण्डेशनका सचिव पेम्बा लामाले बताए।
सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो।
समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क-हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेशन’, प्राडा सुबोध शर्मालाई प्रदान गरिएको थियो ।
यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरियो । पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल (द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) भएका छन्।
उनीहरुलाई क्रमशः १५, १० र ५ हजार राशिको पुरस्कार दिइयो। पुरस्कार छनोटका लागि स्रष्टा अनिल पौडेलेका संयोजकत्वमा समिति गठन गरिएको थियो।









![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

