Kathmandu Press

चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु

बेइजिङ, असार १४ : चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ। याङ्सी नदीको सहायक नदीका...
चीनमा विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजना शुरु

बेइजिङ, असार १४ : चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ। 

याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको हाे। जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादनमार्फत विद्युतको माग पूरा गर्ने चीनको योजनाबमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन्।

यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ। सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ। 

बाइहेटान बाँधको उचाई २ सय ८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन्। यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो। थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ। 

यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो। 

विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विशृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन्।

चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ। बाइहेटान विद्युतगृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्सेनि दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, असार १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्