१६ वटा भारतीय हात्ती पसेपछि झापाका स्थानीय त्रसित
झापा, असार १४ : भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज (सोमबार) बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएकी छन्। घर...
झापा, असार १४ : भारतीय जङ्गली हात्तीको आक्रमणबाट आज (सोमबार) बिहान मेचीनगर नगरपालिका–३ की ५५ वर्षीया डुकीसरी मेचे गम्भीर घाइते भएकी छन्। घर नजिकै रहेको निन्दा खोलामा नुहाउन जाने क्रममा हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएकी हुन्।
खुट्टा र टाउकामा चोट लागेर घाइते बनेकी मेचेको विर्तामोडस्थित बिएन्ड सी अस्पतालमा उपचार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। गए राति बाहुनडाँगीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतबाट १६ हात्ती नेपाल छिरेको डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले बताए।
बाहुनडाँगी छिरेका १६ हात्तीमध्ये १४ मेचीनगर–३ स्थित बहुवन सामुदायिक वन क्षेत्रमा रहेका छन्। दुईवटा मेचीनगर–२ स्थित देवीगन्जमा हात्ती स्थानीयवासी हरि चम्लागाई र नरेन्द्र न्यौपानेको चिया बगानमा छन्।
गाउँको बीचमा रहेको चिया बगानमा हात्ती छिरेपछि स्थानीयवासी त्रसित बनेका छन्। मानवीय क्षति हुन नदिनका लागि डिभिजन वन कार्यालयका सुवेदार रामप्रसाद यादवको नेतृत्वमा टोली खटाइएको छ।
हात्तीलाई गाउँ पस्न नदिन वनको टोली, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गस्ती गरिरहेको यादवले बताए।
उनका अनुसार दिनभर चियाबगानमा रहेका हात्तीलाई साँझ परेपछि भारततिरै सुरक्षित तरिकाले लखेट्ने योजना छ। बाहुनडाँगीमा विगत एक महिनादेखि भारतबाट हूल बाँधेर आउने हात्तीले आतङ्क मच्चाउन थालेको स्थानीय हात्ती संरक्षणकर्मी शङ्कर लुइँटेलले बताए।
उनका अनुसार २०७२ सालमा विद्युतीय तारबार पूरा भएपछि बाहुनडाँगीमा भारतबाट हात्ती पस्न सकेका थिएनन्। गत जेठको अन्तिम सातादेखि दिनहुँ सयको सङ्ख्यामा हात्ती मेची नदी तरेर आएका छन्।
उनले भने, ‘तारबार भत्काएर गाउँ पसेर मान्छेमाथि आक्रमण गर्न थालिसके, समयमै विद्युतीय घेराबारको मर्मतसम्भार नगर्ने हो भने फेरि विगतमा जस्तै हात्तीका कारण बाहुनडाँगीमा ठूलो धनजनको क्षति हुने सम्भावना बढेको छ।’












