बागदादमा इजिप्ट, इराक र जोर्डनका नेताहरुको भेट
बगदाद, असार १४ : इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ।सो वार्तामा इराकका प्रधानमन्त्री...
बगदाद, असार १४ : इराकको राजधानी बागदादमा मध्यपूर्वी देशहरु इराक, इजिप्ट र जोर्डनका नेताहरुको आइतबार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ।
सो वार्तामा इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयका बीचमा आइतबार भएको बताइएको छ।
सो वार्ताको अग्रसरता इराकका प्रधानमन्त्री मुस्ताफाले लिएको पनि विभिन्न अन्तार्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। त्यस भेट तथा वार्ताका क्रममा उहाँहरुले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वका बारेमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ।
सो भेटवार्तापछि आइतबार इराकी प्रधानमन्त्री मुस्ताफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो हामीले गरेको भेटघाटले खासमा हामी एक छौँ र हामीले आवश्यकताअनुसार आपसमा सहयोगको आदान प्रदान गर्न सक्छौँ भन्ने हो।’
साथै सो विज्ञप्तिमा ‘यी तीन देशका नेताहरुको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरु तयार छौँ’ भनेर पनि सन्देश दिन खोजेको उक्त प्रेस वक्तव्यमा जनाइएको छ।
त्यस विज्ञप्तिमा हालैका दिनहरुमा यी तीनओटा देशले सामना गरिरहेका चुनौतीहरुको समाधानका लागि सामुहिक रुपमा पहल गरिने जानकारी पनि दिइएको छ। खासमा यी तीन ओटा देशले हाल कोभिड १९ को समस्या झेल्नुपरिरहेको बताइएको छ। पछिल्ला दिनहरुमा यी देशमा पनि कोभिडले नराम्रोसँग असर गरिरहेको छ ।
त्यसैगरी जारी कोभिड १९को समस्यका कारण ती देशहरुको आर्थिक अवस्था निकै कठिन रुपमा गुज्रिरहेको र उनीहरुले आतंकवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको सो विज्ञप्तिमा जनाइएको छ।
त्यसैले यी नेताहरुले जारी ती सबै खालका समस्याहरुको समाधानका लागि एकताबद्ध भएर लाग्ने कुराको प्रतिबद्धता व्यक्त गरेका पनि बताइएको छ।












