विप्लव नेतृत्वको नेकपाद्वारा रक्तदान, दुई सय बढीको सहभागिता
काठमाडौं, असार १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेकपाले आज (आइतबार) काठमाडौंमा रक्तदान...
काठमाडौं, असार १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेकपाले आज (आइतबार) काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र समर्थक तथा शुभचिन्तक गरी २ सयभन्दा बढीले रक्तदान गरेका छन्।
नेकपाका केन्द्रीय सदस्य माइला लामाले कोरोनाका कारण राष्ट्र र नागरिकलाई परेको समस्यामा पार्टी पनि सहभागी भएको बताए। उनले केन्द्रीय रक्तसञ्चार केन्द्रमै रगत अभाव हुँदै गएको भन्ने जानकारी पाएपछि रक्तदान आयोजना गरेको बताए।
‘कोरोनाका कारण रगत अभावका कारण नागरिकको ज्यान गइरहेको सुन्नमा आएको छ,’ उनले भने, ‘राष्ट्र र नागरिकलाई आएको संकटमा सहभागीमा हुन्छौं भनेर पार्टीका नेता, कार्यकर्ता, तथा युवायुवतीहरूको उत्साहजनक सहभागी हुनुभएको छ।’
कोरोनासँगको लडाइँमा रक्तदानले सहयोग हुने विश्वास लामाले गरे। ‘कोभिड-१९ ले खडा गरेको विपत्तिसँग लड्न भावनात्मक रूपमा एकता रक्तदानले सहयोग गर्ने विश्वास लिएका छौं।’
नेकपाका काठमाडौं इन्चार्जसमेत रहेका लामाले अहिले नेपालका राजनीतिक पार्टी र सरकार जनताको स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।
उनले संसदभित्र रहेका पार्टीहरूलाई जनताको स्वास्थ्यभन्दा सत्ताको लुछाचुँडी गरिरहेको बताउँदै अहिलेको व्यवस्थाप्रति निराशा र चिन्ता बढेको बताए।
आफ्नो पार्टीले वैज्ञानिक समाजवादमार्फत जनताका सबै समस्या समाधान गर्न खोजेको उनको भनाइ थियो।










![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)

