Kathmandu Press

सवारीसाधन चोरी र खरिद गरेकाे आराेपमा ६ जना पक्राउ

भक्तपुर, असार १३ : सवारीसाधन चोरी र खरिद गरेकाे आराेपमा भक्तपुरबाट ६ जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-७ घर भई भक्तपुर...
सवारीसाधन चोरी र खरिद गरेकाे आराेपमा ६ जना पक्राउ

भक्तपुर, असार १३ : सवारीसाधन चोरी र खरिद गरेकाे आराेपमा भक्तपुरबाट ६ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका-७ घर भई भक्तपुर नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर-२ दत्तात्रय घर भई सोही नगरपालिका-८ लिवाली बस्ने १९ वर्षीय वैद्य भन्ने विजय ह्याङ्जु, दोलखाको सैलुङ गाउँपालिका-२ घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका-६ सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ र भक्तपुर-८ लिवाली घर भएका २० वर्षीय साइन भन्ने रमेश कोजु रहेको प्रहरीले जनाएको छ।

जेठ ३० गते भक्तपुर-१० कमलविनायक बस्ने लक्ष्मणबहादुर विकको भे७प ४४१३ नम्बरको मोटरसाइकल हराएको भनी ३१ गते महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा निबेदन परेपछि खोजतलास गर्ने क्रममा शनिबार सोही वृत्तका प्रहरी निरीक्षक सुर्यबहादुर शाहीको कमान्डमा खटिएका प्रहरी टोलीले गोप्य सूचनाका आधारमा मोटरसाईकलको नम्बर परिवर्तन गरी चलाएको अवस्थामा भक्तपुर-८ लिवालीबाट मोटरसाइकल चोरी गर्ने यी चारजनालाई  प्रहरीले पक्राउ गरेको हो।

चोरी भएको भे७प ४४१३ (परिवर्तित नम्बर बा७१प ४७०३) मोटरसाईकल सहित नियन्त्रणमा लिई अनुसन्धान गर्दा किर्तिपुर नगरपालिका १५ बस्ने रवीन्द्र नेपालको बा३६प १५८८ नम्बरको स्कुटरसमेत चोरी गरी बेचेको खुल्न आएको जनाइएको छ। 

सोही स्कुटर खरिद गर्ने दुईजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा पर्नेहरू काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-१० पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङको लमही घर भई सूर्यविनायक-१० पलाँसे बस्ने २२ वर्षीय आकाश मगर छन्।

उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:०५ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्