Kathmandu Press

यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु

यमनको मरिब भिडन्तमा कम्तीमा १११ जना यमनीको मृत्यु

दुबई, १३ असार : यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनको अवधिमा कम्तीमा १११ जना यमनीको ज्यान गएको छ। 

यमनका हुथी विद्रोहीले यमनको मरिबमा आक्रामक कारबाही शुरु गरेपछि भएका यी भिडन्तमा दुबै तर्फबाट जनधनको क्षति भएको सरकारी स्रोतले जनाएको छ।

हुथी विद्रोहीहरुले मरिबलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्। यो क्षेत्र उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र स्थान हो। 

Hardik ivf

बिहीबार र आइतबार भएका भिषण लडाईंमा सरकार समर्थित  २९ जना सैनिकको ज्यान गएको छ भने कम्तीमा ८२ जना विद्रोही मारिएको सरकारी सूत्रले जनाएको छ। तर विद्रोही हुथी समूहले आफ्ना लडाकूको ज्यान गएको बारेमा केही बताएको छैन।

यमनका सरकारी अधिकारीको भनाईमा बिहीबारदेखि हुथी विद्रोहीले उत्तर, दक्षिण र पश्चिम तर्फबाट मरिबमा भिषण आक्रमण गरिरहेका छन्। तर लडाकूहरु मरिबको भित्री तहमा प्रवेश गर्न पाएका छैनन् । मरिबलाई विद्रोहीको कब्जामा पुग्न नदिन सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ।

एक जना सरकारी सैन्य अधिकारीले मरिब क्षेत्रमा दुबै तर्फबाट भिषण हमला भइरहेको र साउदी गठबन्धनका सेनाले हवाई आक्रमण गरिरहेको जानकारी दिए। 

यमनको मरिब क्षेत्र तेलका लागि धनी छ। यो क्षेत्रलाई नियन्त्रणमा लिन सके हुथी विद्रोहीको क्षमता बढ्ने र शान्तिवार्तामा आफ्नो हात माथि पर्नेछ। तर यो क्षेत्रमा जारी भिडन्तका कारण मानवीय सङ्कट उत्पन्न हुन सक्ने स्थानीय मानवीय संघसंस्थाहरुले बताएका छन्। 

यमनका अन्य क्षेत्रमा जारी भिडन्तबाट बच्न धेरै मानिस मरिबमा बस्दै आएका छन्।

यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । यमनका मुख्य विद्रोही समूह हुथीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा राखेका छन्। 

संयुक्तराष्ट्र संघ र अमेरिकाले युद्ध अन्त्य गर्न प्रयास गरिरहे पनि हुथी विद्रोहीहरुले कुनै किसिमको युद्धविराम वा मध्यस्थता हुनुअघि सानास्थित विमानस्थल खुलाउन माग गरिरहेका छन् । यो विमानस्थल सन् २०१६ देखि साउदी प्रतिबन्धका कारण बन्द छ। 

मरिबमा रक्तपातपूर्ण स्थिति देखिए पनि हुथी विद्रोहीहरुले साउदी अरेबियाका कैयौं स्थानमा ड्रोन र क्षेप्यास्त्रबाट आक्रमण जारी राखेका छन्। 

यसै महिना यमनका लागि राष्ट्रसंघीय विशेषदूत मार्टिन ग्रिफिथले युद्ध अन्त्य गराउन तीन वर्षदेखि आफूले गरेको प्रयास त्यतिकै खेर गएको बताएका छन्। 

यमन गृहयुद्धमा दशौं हजारको मृत्यु भइसकेको छ भने यमनका ८० प्रतिशतभन्दा बढी मानिस विदेशी सहायतामा निर्भर हुनु परेको छ। राष्ट्रसंघले यस युद्धलाई सर्वाधिक खराब मानवीय सङ्कटको संज्ञा दिएको छ।

युद्धका कारण दशौं लाख व्यक्ति विस्थापित भएका छन्।
 

प्रकाशित मिति: १४:२६ बजे, आइतबार, असार १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्