Kathmandu Press

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

सुर्खेत, असार १३ : कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको...
कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

सुर्खेत, असार १३ : कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए।

‘पछिल्लो दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ। अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ,’ निर्देशक डा.खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ। यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौं।’

आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए। उनका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ। पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ। सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुम पश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।
 

प्रकाशित मिति: ०७:२१ बजे, आइतबार, असार १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्