नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरू
काठमाडौं, असार १५ : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ को तेस्रो संस्करण सुरू भएको छ।
अमेरिकाको राजधानी वासिङ्टन....

काठमाडौं, असार १५ : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०१९ को तेस्रो संस्करण सुरू भएको छ।
अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित सिल्भरस्प्रिङमा महोत्सवको आयोजना गरिएको छ। विनोद पौड्यालद्वारा निर्देशित नेपाली फिल्म ‘बुलबुल’ प्रर्दशन गरि महोत्सवको उद्घघाटन गरिएको हो।
महोत्सव निर्देशक पूर्णसिंह बराइलीका अनुसार, नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सवको आयोजना गरिएकोे हो।
महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ।
त्यस्तै, अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक बराइलीले बताए।
तीन दिनसम्म चल्ने महोत्सव प्रविन सेङ्बोद्वारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ।
महोत्सवका मानार्थ अध्यक्ष नविन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन्।
नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजना भएको यो महोत्सवमा निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभल’की रेबेका बुस्टामिना र एमी अवार्ड विजेतासमेत रहेकी लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् जज रहेकी छन ।
शनिबार साँझाबाट सुरू भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ।












