Kathmandu Press

तनहुँका नौ स्थानीय सरकारको बजे साढे ६ अर्ब

तनहुँ, असार ११ : तनहुँ जिल्लाका १० मध्ये नौ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन्। तीन नगरपालिका र...
तनहुँका नौ स्थानीय सरकारको बजे साढे ६ अर्ब

तनहुँ, असार ११ : तनहुँ जिल्लाका १० मध्ये नौ स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन्। 

तीन नगरपालिका र ६ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन्। 

जिल्लाका स्थानीय तहले ६ अर्ब ६९ करोड २२ लाख २३ हजार पाँच सय बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन्। भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन। 

राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए। भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ। 

स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन्। सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ। 

जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ। 

चालु वर्षको तुलनामा रु २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताइन्। उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको बताउनुभयो । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ। 

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा  तीन करोड कम बजेट सार्वजनिक गरेको छ। शुक्लागण्डकीले एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजकि गरेको छ । भिमाद नगरपालिकाले ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ। उपप्रमुख शारदा खनालले पेश गरेको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ। 

म्याग्दे गाउँपालिकाले ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ। आँबुखैरेनी गाउँपालिकाले ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ। 

ऋषिङ गाउँपालिकाले ५२ करोड र देवघाट गाउँपालिकाले  ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन्। घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ। घिरिङले ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ। (रासस)

प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, असार ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्