बैतडीका तीन स्थानीय तहले सार्वजनिक गर्न सकेनन् बजेट
बैतडी, असार १४ : स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर, बैतडीका तीन नगरपालिकाले अझै ....

बैतडी, असार १४ : स्थानीय सरकार सञ्चालन ऐन अनुसार असार १० भित्र सबै स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। तर, बैतडीका तीन नगरपालिकाले अझै अगामी आर्थिक वर्ष २०७६-७७ का लागि नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेका छैनन्।
कानून अनुसार गाउँपालिका र नगरपालिकाले प्रत्येक वर्ष असारको १० गतेभित्र आगामी आवको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा-नगरसभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। तर, दशरथचन्द, पाटन र पुर्चौडी नगरपालिकाले बजेट सार्वजनिक गर्न सकेका छैनन्।
तयारी नपुगेकोले असार १० मा बजेट ल्याउन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताए। शनिबार नगरकार्यपालिकाको बैठक रहेको र आइतबार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने उनले बताए। पाटन नगरपालिकामा पनि आइतबारसम्म बजेट सार्वजनिक गर्ने तयारी भएको नगरउपप्रमुख सरस्वती कोलीले जानकारी दिए।
यस्तै पुर्चौडी नगरपालिकाले असार २० गतेपछि मात्रै आगामी वर्षको बजेट सार्वजनिक हुने जनाएको छ। वडास्तरमा योजना तर्जुमा काम नसकिएको, टोल, बस्ती भेला जारी रहेकोले एक हप्ता अझै लाग्ने नगरप्रमुख रणबहादुर कुँवरले बताए।
जिल्लाका १० मध्ये सात स्थानीय तहले यसअघि बजेट प्रस्तुत गरिसकेका छन्। मेलौली नगरपालिका, सिगास गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले बजेट सार्वजनिक गरिसकेका हुन्।
डिलाशैनी गाउँपालिकाले रु ४६ करोड ६२ लाख ४२ हजार , मेलौली नगरपालिकामा रु ३७ करोड ६५ लाख ८९ हजार, शिवनाथ गाउँपालिकाले रु २८ करोड ७९ लाख १५ हजार ७९२ को बजेट सार्वजनिक गरिसकेकोे छ।
यस्तै दोगडाकेदार गाउँपालिकाले रु ४७ करोड पाँच लाख ९३ हजार , सिगास गाउँपालिकाले ४१ करोड ६६ लाख २३ हजार, सुर्नया गाउँपालिकाको ३१ करोड र पञ्चेश्वर गाउँपालिकाले रु ३३ करोड ४४ लाख ५० हजारको बजेट प्रस्तुत गरेको छ। बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह छन्। रासस









-(86)-1764936079.jpg)


-1764760320.jpg)