Kathmandu Press

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

मेलम्ची नगरको विपद् कोषमा शिक्षकको सहयोग

सिन्धुपाल्चोक, असार ९ : मेलम्ची नगरपालिकाले सुरु गरेको मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा मेलम्चीका शिक्षकहरुले तीन दिन बराबरको तलब जम्मा गरेका छन । नगरपालिकामा कार्यरत शिक्षकको तीन दिन बराबर हुन आउने रकम रु ११ लाख ३६ हजार ८३९ एकमुष्ट जम्मा गरिएको नेपाल शिक्षक महासङ्घ मेलम्ची नगरपालिका समितिका अध्यक्ष शिवप्रसाद ढुङ्गानाले जानकारी दिए।

यही असार १ गते मेलम्ची तथा इन्द्रावती नदीमा बाढी आउँदा हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा ठूलो धनजनको क्षति भएको थियो । बाढमिा सयौँ घर बगाउनुका साथै मानवीय क्षतिसमेत भएको थियो । मेलम्ची–६ मा रहेको तेर्से माध्यमिक विद्यालयमा समेत क्षति पु¥याएको थियो । विपद्को यस घडीमा पीडितहरुलाई सहयोग गर्नु र नगरपालिकालाई साथ दिनु कर्तव्य ठानी उक्त सहयोग गरिएको ढुङ्गानाले बताए। 

हुतराजको एक लाख सहयोग

उक्त कोषमा हुतराज अर्धचन्द्र जनहितकारी संस्थाले रु एक लाख एक हजार जम्मा गरेको छ । सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको सो संस्थाले तत्कालको राहतका लागि उक्त रकम सहयोग गरेको र पछि थप रकम सहयोग गर्ने संस्थाका सचिव सुर्दशन पाण्डेले जानकारी दिए । 

संस्थाले जिल्लाका बाढी पहिरो पीडितका लागि अक्षयकोष स्थापना गरी रु दुई लाख जम्मा गरेको र हालसम्म रु पाँच लाख पुगेको उनले बताए। उनका अनुसार अमेरिकामा बसोबास गर्दै आएका डा दामोदर पाण्डेको समन्वयमा गो फन्ड कोष स्थापना गरी सङ्कलन गरिएको रकम प्रभावित स्थानीय तहलाई हस्तान्तरण गरिने छ। रासस
 

प्रकाशित मिति: १०:०७ बजे, बुधबार, असार ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्