Kathmandu Press

काभ्रेमा पनि एक साता थपियो निषेधाज्ञा

काभ्रे, असार ८ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक साताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ। यही असार १४ गते राति १२...
काभ्रेमा पनि एक साता थपियो निषेधाज्ञा

काभ्रे, असार ८ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले केही खुकुलो बनाउँदै एक साताका लागि निषेधाज्ञाको समयलाई पुनः बढाएको छ। 

यही असार १४ गते राति १२ बजेसम्मका लागि समय थप गरेको हो। कोरोना सङ्क्रमण उल्लेख्य रूपमा नघटेकाले सम्भावित सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि निषेध आदेशको समयलाई बढाएको जनाइएको छ। 

निषेधाज्ञाको समयमा यसअघिको भन्दा अझै खुकुलो पारिएको छ। यस समयमा जिल्लास्थित विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना गरी आलोपालो प्रणालीमा सेवा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ। 

यसअघि आलोपालो माध्यममा सेवा प्रवाह गर्दै आएका राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा सञ्चालन गर्ने र बीमा समिति, बीमा कम्पनी, रेमिट र गैरसरकारी संस्थाहरुले भिडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गरेर न्यूनतम जनशक्ति परिचालन गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

विकास निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुली, स्यानिटरी, सिमेन्ट र छड) बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ। खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहार वस्तु, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने छ। 

सुन पसल, भाँडा पसल, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स पसल र इलेक्ट्रोनिक पसलहरु आइतबार, मङ्गलबार र बिहीबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्यस्तै निजी सवारी साधन (कार, जीप, भ्यान) बढीमा चार जना र ट्याक्सीमा बढीमा तीन जना तथा मोटरसाइकल, स्कुटर जोर बिजोर प्रणालीमा सञ्चालन हुनेछन् । सो समयावधिमा सरकारी, सार्वजनिक संस्थान, कूटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल बीउबिजन, पुश चिकित्सकलगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधन निर्वाधरूपमा सञ्चालन गर्न पाउने भएका छन्।

सार्वजनिक निर्माणका सामग्री ढुङ्गा, बालुवा गिटीलगायतका सामग्री जिल्लाबाहिर ढुवानी गर्ने सवारी स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी जिल्लाभित्रको हकमा बेलुका ५ बजेदेखि बिहान ७ बजेसम्म तथा जिल्लाबाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

जिल्लामा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ३७ थपिएसँगै जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या ७८७ पुगेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। (रासस)
 

प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, असार ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्