Kathmandu Press

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने विश्वास

सियोल, असार ७ : उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष दूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक...
अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने विश्वास

सियोल, असार ७ : उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष दूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन्। 

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ किम यतिबेला सियोलमा छन्। खासगरी, उत्तर कोरियाली आणविक कार्यक्रम र अमेरिकी अग्रसरतामा उत्तर कोरियामाथि लागेका प्रतिबन्धका बारेमा वार्ताहरु केन्द्रित भएका छन् ।

Hardik ivf

गत साता प्योङयाङमा आयोजित उत्तर कोरियाली राजनीतिक सम्मेलनमा नेताकिम जोङ उनले देशको अर्थतन्त्रमा सुधार ल्याउन सुदृढ प्रयास थाल्न आह्वान गरेका थिए।

अमेरिकी अग्रसरतामा लागेका प्रतिबन्धका कारण सङ्कट बेहोरिरहेको उत्तर कोरियाको अर्थतन्त्र कोरोना भाइरस महामारीका कारण गरिएको सीमाबन्दी र खाद्यान्न अभावले अझ सङ्कटमा परेको छ।

अमेरिकी विशेषदूत सुङ किमले उत्तर कोरियाली नेताका टिप्पणीलाई आफूहरुले ‘नोट’ गरेको बताउँदै वार्ताका लागि गरिएको आग्रहलाई उत्तर कोरियाले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरे।

दक्षिण कोरियाली र जापानी आणविक निशस्त्र सम्बन्धी कुटनीतिज्ञसँगको भेटवार्तापछि किमले भने, ‘हामीले वार्ताका लागि कुनै पूर्वसर्त राखेका छैनौं । हामी कुनै पनि ठाउँमा, कुनै पनि समयमा वार्ताका लागि तयार छौं।’ 

दक्षिण कोरियाली विदेश मन्त्रालयले तीनै देशका वरिष्ट अधिकारीहरुले सामूहिक रुपमा उत्तर कोरियालाई वार्ताका लागि सन्देश दिएको जनाएको छ। 

उत्तर कोरियाली नेता किम जङ अन र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सन् २०१९ मा वार्ता भङ्ग भएयता ठोस वार्ता भएका छैनन्।

उक्त वार्ताहरुमा नेता किमले आफ्नो देशमाथि लागेका अधिकांश प्रतिबन्धहरु फुकुवा हुने आशा गरे पनि त्यसलाई अमेरिकाले अस्वीकार गरिदिएको थियो।

दक्षिण कोरियाले अन्तर-कोरियाली संयन्त्रलाई पुनः सक्रिय बनाउन कुटनीतिक पहल सार्थक हुने विश्वास गरिरहेको छ भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले पूर्वराष्ट्रपति ट्रम्पको झैं सोझै वार्ताको साटो मध्यवर्ती विधिमा जोड दिएको छ। 

प्रकाशित मिति: १५:०८ बजे, सोमबार, असार ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्