Kathmandu Press

गोठमै पुगेर निःशुल्क पशु बीमा

गोठमै पुगेर निःशुल्क पशु बीमा

झापा, असार ७ : झापाको शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ। वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पु¥याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताए ।

उनका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेवापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने उनले बताए।

वडाको अधिकांश किसानका घरमा उन्नत जातका गाई छन् । चन्द्रडाँगी बीउबिजन केन्द्रमा केही वर्षपहिले नश्ल सुधारका लागि राखिएको बीउ साँढेका कारण बस्तीमा उन्नत जातका गाईपालन फस्टाएको उनले बताए ।

कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले शुरुमा किसानले नबुझेर बीमा गर्न नमाने पनि अहिले आफैँ फोन गरेर उहाँहरुले बोलाउने गरेको बताए। उनका अनुसार बजारमा ९५ हजारसम्म पर्ने गाईको ७५ हजारसम्मको बीमा गर्ने गरिएको छ ।

बीमा एनएलजी कम्पनीले गरिरहेको छ । पशुको स्वास्थ्य परीक्षणसमेत निःशुल्क स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरिरहेको वडा कार्यालयले जनाएको छ । वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बीमा गरिएको हो । अगामी वर्ष पनि किसानलाई हौसला र उत्साह प्रदान गर्न कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष कार्कीको भनाइ छ ।

प्रकाशित मिति: ११:०३ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्