Kathmandu Press

पहिरोले अवरुद्ध सडक खुलाउन श्रमदान

म्याग्दी, असार ७ : म्याग्दीको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन्। मङ्गला, मालिका र...
पहिरोले अवरुद्ध सडक खुलाउन श्रमदान

म्याग्दी, असार ७ : म्याग्दीको बेनी–दरबाङ सडकको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न जनप्रतिनिधि, प्रशासक, सुरक्षा अधिकारी, सुरक्षाकर्मी र सर्वसाधारणले श्रमदान गरेका छन्। 

मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकखण्ड यही असार १ गतेदेखि अवरुद्ध छ। बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरो पन्छाएर यातायात सञ्चालन गर्न आइतबार जिल्लाका सरोकारवाला आफैँले श्रमदान गरेका हुन्। 

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, नेपाली सेनाको अर्थुङ्गे गुल्मका सेनानी र सशस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङको नेतृत्वमा सुरक्षाकर्मीहरु सडक मर्मतका लागि फापरखेत पुगेका थिए। 

प्रशासक र सुरक्षाकर्मीसँगै तातोपानी र बाबियाचौरका जनप्रतिनिधि र सर्वसाधारण पनि श्रमदानमा सहभागी भएका थिए । नेपाल प्रहरीका २२, नेपाली सेनाका १४ र सशस्त्र प्रहरीका १३ सहित स्थानीयवासीले पहिरोले भत्काएको ठाउँमा ग्यावियन पर्खाल बनाउन श्रमदान गरेका हुन्। 

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी–दरवाङ सडक आयोजनाको ठेकेदार लामा–समानान्तर जेभीको दुई वटा स्काभेटर पनि सडक खुलाउन परिचालन भएको थियो। मङ्गला–२ सिमको पहिरोमा पनि फापरखेतमा जस्तै सुरक्षाकर्मी र स्थानीयवासीले श्रमदान गरेका हुन् । पूर्वाधार विकास कार्यालयले एउटा स्काभेटर परिचालन गरेको छ। 

फापरखेतको घुमाउनेमा सडक मर्मत गरेर बेनीदेखि सिमसम्म हलुका सवारी साधन आवतजावत गर्न मिल्ने बनाइएको प्रहरी नायव उपरीक्षक राईले बताए। यसअघि बेनी–दरबाङ सडक आयोजनाको दोस्रो प्याकेजको ठेकेदार बिरुवा क्याराभान जेभीले मालिका गाउँपालिकाको बाङ्गे पहिरोमा खसेको पहिरो पन्छाएर दरबाङदेखि तोराखेतसम्मको सडकमा यातायात सञ्चालन गराइएको थियो। (रासस)

प्रकाशित मिति: ०७:१६ बजे, सोमबार, असार ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्