Kathmandu Press

इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

दुबई, ६ असार : इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन्। न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका...
इरानको राष्ट्रपतिमा इब्राहिम राइसी निर्वाचित

दुबई, ६ असार : इरानका इस्लामिक कट्टरपन्थी विचारधाराका प्रधान न्यायाधीश इब्राहिम राइसी इरानको राष्ट्रपतिमा निर्वाचित भएका छन्। 

न्यून मतदान भएको यस पटकको राष्ट्रपति निर्वाचनमा इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त राइसीले भारी मत प्राप्त गरेका थिए । 

सन् १९८८ मा हजारौं राजनीतिक बन्दीहरुको सामूहिक हत्याको आरोप खेप्दै आएका राइसीमाथि संयुक्तराज्य अमेरिकाले प्रतिबन्धहरु लगाइरहेको छ। साथै उनीमाथि सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुँदा धेरै मानिसलाई मृत्युदण्ड दिनेगरी फैसलाहरु गरेको आरोप छ। 

Hardik ivf

यस पटकको राष्ट्रपति निर्वाचनमा सुधारवादी पक्षधरहरुको उम्मेदवारी नै रद्द गरिएका कारण पनि राइसीले चुनाव सहजै जित्ने अनुमान गरिएको थियो। 

यसपटक चार जना मात्र चुनावी मैदानमा थिए । 

इरानी सर्वोच्च नेता खामेनीको संयोजकत्वमा गठित समितिले उम्मेदवार छनौटमा मनोमानी गरेको भन्दै त्यसको विपक्षमा रहेकाहरुले मतदान बहिस्कार गर्न आह्वान गरेका कम मतदान भएको अड्कल गरिएको छ। धेरै मानिस मतदान गर्न जानुको साटो घरमै बसेका थिए। 

इरानमा कूल पाँच करोड ९० लाख मतदाता मध्ये करिब दुई करोड ८९ लाखले मात्र मतदान गरेका थिए । मतदानमा सहभागीमध्ये पनि करिब ३७ लाखको मतपत्र बदर भएको छ। 

इरानी राज्य नियन्त्रित टेलिभिजनले कम मतदाता सहभागी हुनुमा कोरोनाभाइरस महामारी र अमेरिकी प्रतिबन्धहरु मुख्य रुपमा जिम्मेवार रहेको बताएको छ। 

एम्नेस्टी इन्टरनेसनलका महासचिव आग्नेस कालामार्डले इब्राहिम राइसीमाथि मानव हत्या, जबर्जस्ती बेपत्ता र यातनाजस्ता मानवता विरोधी अपराधको अनुसन्धान हुनुको साटो राष्ट्रपतिमा निर्वाचित हुनु बिडम्बना रहेको बताएका छन्। 

आधिकारिक घोषणामा राइसीले समग्रमा एक करोड ७९ लाख मत प्राप्त गर्नु भएको देखाइएको छ। कूल मतदान भएको मध्ये राइसीले झण्डै ६२ प्रतिशत मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका पूर्व कट्टरपन्थी रिभोल्युसनरी गार्डका कमान्डर मोहसेन रेजाईले ३४ लाख मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपति हस्सन रौहानीको समर्थनप्राप्त केन्द्रीय बैंकका पूर्व प्रमुख अब्दोलनास्सेर हेम्माटीले २४ लाख मत प्राप्त गरी तेस्रो स्थानमा रहे। अमिरहोसेन घाजीजादेह हाशेमीले १० लाखभन्दा कम मत प्राप्त गरेका थिए । 

मतगणनाको नतिजा सार्वजनिक गर्दै गृहमन्त्री अब्दोलरेजा रहमानी फाज्लीले बदर भएको मतको संख्या खुलाएका थिएनन् । सन् २०१७ र २०१२ मा भएका मतदानमा करिब १२ लाख मत बदर भएका थिए । इरानमा चुनावमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति दिइएको छैन । 

सिरियाका राष्ट्रपति बसार असादले राइसीलाई राष्ट्रपति पदमा निर्वाचित भएको भन्दै तत्कालै बधाई दिएका छन् । 

इरानका राष्ट्रपतिहरु प्रायः सबै दुई कार्यकाल पदमा रहेका छन् । इरानमा राष्ट्रपतिको कार्यकाल चार वर्षको हुन्छ। 
                                                          

प्रकाशित मिति: १४:३० बजे, आइतबार, असार ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्