Kathmandu Press

यादव–भट्टराई समूहले भन्यो- महन्थ ठाकुरले किर्ते गरे

जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूहले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी हेरफेर र पुनर्गठन गरेको किर्ते दस्तावेज निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ ।
यादव–भट्टराई समूहले भन्यो- महन्थ ठाकुरले किर्ते गरे

काठमाडौं, असार ५ : जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी हेरफेर र पुनर्गठन गरेको किर्ते दस्तावेज निर्वाचन आयोगमा बुझाएको आरोप लगाएको छ ।

जसपा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले विज्ञप्ति प्रकाशित गर्दै ७ पुस ०७७ यता पार्टीका दुवै अध्यक्ष सम्मिलित बैठक नभएको स्पष्ट गरेका हुन् । उक्त बैठकमा केन्द्रीय कार्यकारिणी हेरफेर र पुनर्गठन गर्ने निर्णय हुनु त टाढाको कुरा, बैठकको एजेन्डामा समेत उक्त विषय नरहेको खतिवडाले स्पष्ट पारेका छन् ।

‘केन्द्रीय कार्यकारिणी हेरफेर पुनर्गठन गर्ने अधिकार महन्थ ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नै थिएन र त्यस्तो कुने निर्णय भएको पनि छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी १ असार ०७८ मा भुठा विवरण लेखी किर्ते, जालसाजी गरी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन् ।’

निर्वाचन आयोग, पार्टी पंक्ति र आमजनतालाई गुमराहमा पार्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानूनी तथा दण्डनीय रहेको खतिवडाले उल्लेख गरेका छन् ।

‘तसर्थ, यस प्रकारको किर्ते, जालसाजी गरी निर्णय नै नभएको विषयलाई भएको भनी गरिएको कार्यप्रति जसपा, नेपाल खेल व्यक्त गर्दै यस्ता किर्ते कार्यको निन्दा गर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका किर्ते, जालसाजी एवं झुठा विवरणद्वारा फैलाइएको भ्रममा नपर्ने सबैमा आग्रह गरिन्छ ।’
 

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, असार ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्