हिल्सामा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगायो
सिमकोट, असार ५ : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ। हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले...
सिमकोट, असार ५ : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा क्षेत्रमा पहिरो जाँदा खानेपानीको पाइपलाइन बगाएको छ। हिल्साको नौमूलेमा रहेको मुहानमा माथिबाट आएको पहिराले पाइप लाइन बगाउँदा खानोपानी अवरुद्ध भएको छ।
शुक्रबार बेलुका खानेपानीको मुहान रहेको नौमूलेमा माथिबाट आएको पहिराले सबै पाइप लाइन बगाएको हिल्साका होटेल व्यवसायी कर्मा लामाले बताए। चीनसँगको सिमाना पर्ने हिल्सामा पहिरो जाँदा नब्बे घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइपलाइन बगाउँदा पानीको समस्या भएको उनले जानकारी दिए।
सीमा सुरक्षा प्रहरी चौकी (विओपी) का सुरक्षाकर्मीले पनि पहिले ट्याङ्कीमा भएको पानी प्रयोग गरिरहेका र दुई दिनपछि समस्या हुने देखिएको छ। बस्ती तलको कर्णाली नदीको पानी पहिराले धमिलो भएका कारण पिउन योग्य नरहेको उनले बताए।
पहिराले खानेपानीका पाइप लाइनका साथै बीस मिटरभन्दा बढी कर्णाली करिडोरको हिल्साको सडक पनि भत्काएको छ। पहिराको लेदो धेरै भएको कारण तत्काल त्यसलाई मर्मत गर्न सकिने अवस्था नरहेको सुरक्षा चौकीले जनाएको छ। हाल हिल्सामा २२ सर्वसाधारण र १५ सीमा सुरक्षा चौकीका सुरक्षाकर्मी बस्दै आएका छन् । पहिराबाट भएको क्षतिको विवरण भने आएको छैन।











