जि-२० को शिखर सम्मेलन जापानको ओसाकामा सुरू
काठमाडौं, असार १३ : औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन आज जापानको ओसाका शहरमा सुरू भएको छ।
सम्मेलनको आज बिहान ओसाका शहरमा ....

काठमाडौं, असार १३ : औद्योगिक राष्ट्रको समूह (जि–२०)को शिखर सम्मेलन आज जापानको ओसाका शहरमा सुरू भएको छ।
सम्मेलनको आज बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गरेका छन्। सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ हिजो जापानको ओसाका पुगेका थिए।
जापानी प्रधानमन्त्री आबेले यस सम्मेलनका लागि जापान पुग्ने विभिन्न देशका नेताहरुलाई स्वागत गरे। नेताहरु हिजोदेखि नै जापान पुग्ने क्रम जारी छ।
यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुने बताइएको छ।
यसका साथै सम्मेलनको पूर्व सन्ध्यामा विश्व बजारमा दुई मुलुक चीन र अमेरिकाका बीचको कर सम्बन्धी विवाद कायमै रहेकोले यस बारेमा वार्ताद्वारा समस्या सुल्झाउने प्रयास हुने अपेक्षा पनि गरिएको छ।
त्यसैगरी विश्व अर्थतन्त्रमै करवृद्धिले नकारात्मक असर पर्न थालेको अनुमान गर्न थालिएकोले यस बारेमा ती दुई देशलाई वार्ताको माध्यमबाट समस्या सुल्झाउनका लागि विश्वका नेताहरुले सुझाव दिने अपेक्षा पनि गरिएको छ।
यस जि–२० सम्मेलनमा औपचारिक सम्झौता हुने सम्भावना भने नरहेको अधिकारीहरु बताउँछन्। उनीहरुले दुवै मुलुकबीच जारी व्यापार वार्तासमेत केही समयदेखि अबरुद्ध रहेकाले यस विषयले गति लिन सक्ने अनुमान गरिएको बताएका छन्।
समसामयिक विश्वका विषयहरु जस्तै जलवायु परिवर्तन, बुढ्यौली जनसंख्याको व्यवस्थापनलगायतका पनि यस सम्मेलनमा छलफल कार्यसूचीमा रहेका अनुमान गरिएको छ।
विश्वका शक्ति सम्पन्न र औद्योगिक राष्ट्रहरु नै यस समूहका सदस्य रहेकोले जि–२० को यस सम्मेलनमा व्यापारका अतिरिक्त उत्तर कोरियाको विषयले पनि स्थान पाउने अनुमान गरिएको छ।
त्यस्तै इरान र भेनेजुएलाका विषयमा पनि यस सम्मेलनको प्रमुख कार्यसूचीमा रहेका बताइएको छ।
सम्मेलनको पहिलो दिन मन्तव्य राख्दै जापानी प्रधानमन्त्री सिन्जो आबेले आफू पछिल्लो समयमा विश्वमा उठेको व्यापारिक विवादबाट गम्भीर भएको प्रतिक्रिया दिए। उनले यसै सम्मेलनबाट स्वतन्त्र तथा भेदभावरहित व्यापारको लागि वातावरण सिर्जना भएको सन्देश जानुपर्ने आफ्नो धारणा रहेको बताए।
जि–२० को शिखर सम्मेलनमा सहभागी नेताहरुले आ–आफ्ना देशबाट पनि यी विषयमा चासोहरु व्यक्त गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले जापान प्रस्थान गर्नुअघि बिहीबार अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई अन्तर्वार्ता दिँदै अमेरिकी बजार खुम्चिएको र यसबाट चीनको अर्थतन्त्रमा पनि गिरावट आएको दाबी गरे।
यस समूहमा विश्वका औद्योगिक राष्ट्रहरु र युरोपेली युनियन सदस्य रहेका छन्। विश्वका औद्योगिक तथा ठूला अर्थतन्त्रहरु समेटिएको यस समूहको स्थापना सन् १९९९ मा भएको हो।
यस समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन्।












