लिपिङपुलमा बाढीले क्षति पुर्याएपछि तातोपानी नाका अवरुद्ध
सिन्धुपाल्चोक, असार ४ : लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन अवरुद्ध भएको छ। भैरवकुण्ड क्षेत्रमा अविरल वर्षाका कारण लिपिङ खोलामा...सिन्धुपाल्चोक, असार ४ : लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन अवरुद्ध भएको छ।
भैरवकुण्ड क्षेत्रमा अविरल वर्षाका कारण लिपिङ खोलामा ठूलो बाढी आएको छ। बाढीले जीर्ण अवस्थामा रहेको पुलको आधा भाग बगाएको अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले बताए।
बिहीबार खासाबाट लार्चातर्फ आएका १२ कन्टेनरमध्ये छवटा मात्रै तातोपानी आएका छन् । स्याउ बोकेका ६ कन्टेनर लिपिङमै रोकिएका छन् । पुलको मुख्य भाग नै ढल्ने अवस्थामा रहेकोले जोखिम मोलेर मानिस आवतजावत गरिरहेका छन् । तर, गाडी आउनसक्ने अवस्था छैन ।
मितेरीपुलबाट तीन सय मिटर यता लिपिङ पुल भूकम्प र भोटेकोसी बाढीले जिर्ण भएको थियो।
अहिले खासाबाट स्याउ मात्रै आयात भइरहेकोले लिपिङमा रोकिएका गाडीबाट स्याउ झिकेर पुलपारि अर्को गाडीमा हालेर राजधानी पठाउने तयारी भइरहेको बताइएको छ । बाटो बन्द भएपनि नाका भने सुचारु रहने छ।











