नम्रता 'जाइरा'मार्फत बनिन् एक्सन अभिनेत्री
काठमाडौं,असार १२ : अभिनेत्री नम्रता श्रेष्ठले फिल्म जाइरामा केही नयाँ भूमिकामा आफूलाई प्रस्तुत गरेकी छिन्। सधै एउटा प्रेमिकाको भूमिकामा फिल्ममा द....

काठमाडौं,असार १२ : अभिनेत्री नम्रता श्रेष्ठले फिल्म जाइरामा केही नयाँ भूमिकामा आफूलाई प्रस्तुत गरेकी छिन्। सधै एउटा प्रेमिकाको भूमिकामा फिल्ममा देखा पर्ने नम्रता जाइरामा भने एक एक्सन अभिनेत्रीको भूमिकामा छिन्।
नेपाली फिल्म जगतकै पहिलो महिला केन्द्रित एक्सन फिल्म दाबी गरिएको जाइरामार्फत नम्रताले फिल्म निर्माताका रुपमा पनि डेब्यू गरेकी छिन्। नम्रताले आफूमा सधैं केही फरक भूमिका र पृथक फिल्ममा नयाँ ढंगले प्रस्तुत हुने चाहना रहेको बताइन्।
जाइराकै लागि उनले पहिलो पटक स्टेजमा लाइभ नृत्य देखाइन्। बिहीबार फिल्मको पहिलो गीतको रुपमा ‘आँखैले बोल्छ’ बोलको गीत रिलिज कार्यक्रममा नम्रता र अनुपको लाइभ नृत्य प्रस्तुत गरिएको थियो।
‘मैले पहिलो पटक यसरी लाइभ स्टेजमा नृत्य गरेकाले म निकै नर्भस थिएँ र छु पनि,’ नृत्यपछि उनले भनिन्। यो लाइभ प्रस्तुतिकै लागि नम्रता र अनुपले चार दिन रिहर्सल गरेको बताइएको छ। गीतको भिडियोमा नम्रता र अनुपलाई जोडीका रुपमा देखाइएको छ।












