इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठित
सिन्धुपाल्चोक, असार ४ : सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायत कार्य गर्न इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति...
सिन्धुपाल्चोक, असार ४ : सर्वपक्षीय छलफलबाट बाढीका कारण पीडामा परेका नागरिकलाई तत्काल राहत वितरणलगायत कार्य गर्न इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन गरिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङका संयोजकत्वमा इन्द्रावती मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति गठन गरिएको हो। बाढीबाट विस्थापितलाई तत्काल राहतका लागि सभामुख अग्निप्रसाद सापकोटाका पहलमा उपलब्ध भएका खाद्यान्नलगायत राहत सामग्री समितिलाई हस्तान्तरण गरिएको छ।
समितिले बाढी पीडितका लागि प्राप्त भएका र आगामी दिनमा प्राप्त हुने सबैखाले राहत सामग्री एकद्वार प्रणालीबाट वितरण गर्ने निर्णय गरेको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। सभामुख सापकोटाकै उपस्थितिमा समिति गठन गरिएको हो।
समितिले बाढीपछि अवरुद्ध फोन, इन्टरनेटलगायत सूचना तथा सञ्चार क्षेत्र, विद्युत् र सडक तत्काल चालु गर्न संघ, प्रदेश र स्थानीय सरकारका समन्वयमा कार्य अघि बढाउनुपर्ने जनाएको छ।











