पत्रकार पारशविक्रममाथिको प्रहरी ज्यादतीप्रति पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले एसोसिएट संस्था नेपाल खेलकूद पत्रकार मञ्चका सदस्य पारशविक्रम शाहमाथि प्रहरीले धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
देश दैनिक डटकमका सम्पादक र प्रकाशकसमेत रहेका उनलाई समाचार संकलनका क्रममा प्रहरी सहायक निरीक्षक प्रतिभा सिंहले दुर्व्यवहार र कुटपिट गरेको घटनाप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘आज बिहान समाचार संकलनका क्रममा स्वयम्भू पुगेका पत्रकार शाहलाई प्रहरी सहायक निरीक्षक सिंहले सूचना विभागबाट जारी पत्रकार परिचयपत्र देखाउँदा देखाउँदै पनि ‘बिहान के रिपोर्टिङ, कस्तो रिपोर्टिङ’ भन्दै दुर्व्यवहार गर्दै कुटपिट गर्नुका साथै तत्पश्चात स्वयम्भू प्रहरी वृत्त लगेर थापा थरका प्रहरी जवानले लाठी र बुट हान्दै बन्दुक तेर्साएर ठीक पार्ने धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्दै पत्रकारलाई निर्बाध र सुरक्षित काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ।
पत्रकारमाथि प्रहरीबाट गरिएको यस्तो हर्कत प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघको भनाइ छ।












