खेवाङका प्रत्येक घरमा खानेपानीको धारा पुग्ने
ताप्लेजुङ, असार ३ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुर्याइने भएको छ। यहाँका विभिन्न सात मुहान प्रयोग गरेर...
ताप्लेजुङ, असार ३ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका प्रत्येक घरमा ५ वर्ष भित्रै खानेपानीको धारा पुर्याइने भएको छ। यहाँका विभिन्न सात मुहान प्रयोग गरेर प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने लक्ष्यसाथ फेदीखोला खानेपानी आयोजनाको काम थालिएको छ।
डेढ महिना अघिबाट उक्त आयोजनाको निर्माण शुरु भएको हो । करिब १२ करोडमा आयोजना सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए। उनका अनुसार हाल सम्ममा तीन मुहानका लागि ट्याङ्की निर्माण सकिन लागेका छन् भने अन्य मुहान व्यवस्थापनको कार्य तत्काल अघि बढाइने छ।
‘बीचमा कुनै अवरोध नभए आगामी तीन वर्षमा काम सक्ने छौँ, यस आयोजनाबाट यहाँका प्रत्येक घर परिवार लाभान्वित हुनेछन्,’ अध्यक्ष अधिकारीले भने। सङघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट उक्त आयोजना सञ्चालन भएको अधिकारीले बताए।
खेवाङमा करिब साढे ४ सय घर परिवार छन् । पछिल्लो समय विभिन्न मुहानहरु सुक्दै गएकाले कतिपय क्षेत्रमा खानेपानीको समस्या सिर्जना हुँदै गएको स्थानीयले बताए । यस अघिका विभिन्न योजनाबाट खानेपानीको व्यवस्थापन भए पनि प्रयोग गरिएका मुहानहरु सुक्दै गएकाले समस्या हुन थालेको हो। आयोजनाको काम शुरु भएसँगै स्थानीयबासी हर्षित भएकाछन् ।
आयोजना सम्पन्न भए धारा, कुवाबाट पानी बोक्नु पर्ने जस्ता बाध्यता हट्ने स्थानीयको विश्वास छ ।












