अबिरल वर्षापछि राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध
मार्तडी, असार १ : अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको...
मार्तडी, असार १ : अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।
राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनका अनुसार बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ। राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ।
उनले दिएको जानकारी अनुसार सडक विभागलाई राजमार्गमा आएको पहिरो स्काइभेटर लगाएर पन्छ्याउन लगाएपनि वर्षा नरोकिएकाले बाटो खुलाउन सकिएको छैन।
बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन। माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ अधिकारीको भनाइ रहेको छ।
जिल्लाका लागि धनगढीबाट खाद्यान्न लिएर आएका ट्रक र ट्याक्टरहरु बेतालमाडौंँमा रोकिएका छन् । राजमार्ग अवरुद्ध भएपछि बिरामीलाई जिल्ला बाहिर लैजान थप समस्या हुने भएको छ भने जिल्लामा खाद्यान्न समेत अभाव हुने देखिन्छ।
यसैगरी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध भएको छ । लगातारको वर्षासँगै बाउली खोला र अनै खोलामा पानीको बहाब बढेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मार्तडी–कोल्टी सडकका विभिन्न ठाउँहरुमा पनि स–साना पहिरो खस्ने गरेकाले उक्त क्षेत्रको सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।
मार्तडी घटमुना जोड्ने सडक पनि अबिरल वर्षाका कारण अवरुद्ध बनेको छ । बाउली खोलामा पानीको बहाब बढेको र उक्त सडकको विभिन्न ठाउँमा स—साना पहिरो खस्ने गरेकाले सडक अवरुद्ध बनेको हो। गौमुल गाउँपालिकाको केन्द्र घटमुनासम्म जोडिएको उक्त सडकसँगै जिल्लाका अन्य ग्रामीण सडक समेत अवरुद्ध बनेका छन्।
नहरमा बालुवा भरिँदा विद्युत् सेवा अनियमित
जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ। विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए ।
उाका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले नहरमा बालुवा भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ । खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ।
जिल्लामा रहेको एक मात्र साना जलविद्युत् केन्द्र अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् । बालुवा हटाउनका लागि दैनिक रुपमा नहरमा कर्मचारी खटाइए पनि बाढी बढी आउने गरेकाले सम्भव नभएको पण्डित बताउनुहुन्छ । तत्काल नहरको बाँध बनाउन सक्ने अवस्था नभएकाले असार र साउन महिनासम्म विद्युत् सेवा अनियमित हुने बताइएको छ । नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणलाई समस्या हुनुको साथै यहाँका रेडियो, अनलाइन र दैनिक कार्यालयको कामकाज समेत प्रभावित बन्न पुगेको छ। रासस











