द आर्ट अफ लिभिङद्वारा अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण
पोखरा, असार १ : द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य...पोखरा, असार १ : द आर्ट अफ लिभिङ गण्डकीले लेखनाथस्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड– १९ उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरणसहित अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
संस्थाका गण्डकी प्रदेश प्रमुख नरेश भट्टराईले सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सन्ट्रेटर पाँच, अक्सिजन सिलिण्डर १५, पल्स अक्सिमिटर पाँच थान र अन्य स्वास्थ्य सामग्रीसहित एउटा कम्प्युटर हस्तान्तरण गरिएको जानकारी दिए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्तपालका कार्यकारी निर्देशक डा विकास गौचनलाई हस्तान्तरण गरेका हुन् । प्रमुख जिसीले महामारीका समयमा हातेमालो गर्दै सहयोगमा जुट्नु निकै सकारात्मक भएको जनाउँदै वितरण गरिएको सामान के कसरी प्रयोग भएका छन् त्यसको अनुगमन गर्न आग्रह गरे।
डा. गौचनले सरकारी अस्पतालको उपचार पद्धति र सेवाप्रति नागरिकलाई विश्वस्त बनाउन आवश्यक स्वास्थ्य उपकरण र दक्ष जनशक्तिको सुनिश्चिता आवश्यक रहेको औँल्याए।
आर्ट अफ लिभिङका प्रशिक्षक संयोजक महेश्वर गिरीले विश्वका १६० भन्दा बढी मुलुकमा योग र ध्यानका साधनाबाट स्वथ्य समाजको निर्माणमा लागिपरेको जानकारी दिए। संस्थाका पोखरा संयोजक विश्वमोहन अधिकारीले सामाजिक उत्तरदायित्व र मानवीय सेवामा संस्था निरन्तर सक्रिय रहेको र र आगामी दिनमा यस्ता मानवीय सेवाको गतिविधिलाई निरन्तरता दिँदै जाने बताए।











