Kathmandu Press

नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध

जाजरकोट, असार १ : जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ। एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि...
नहरमा बालुवा थुप्रिँदा विद्युत् सेवा अवरुद्ध

जाजरकोट, असार १ : जैरीगाड जलविद्युत् आयोजनाको नहरमा बालुवा थुप्रिँदा डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध भएको छ। 

एउटा मात्र टर्वाइनबाट सञ्चालनमा रहेको विद्युत् सोमबार बिहानदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जानकारी दिए। दुई टर्वाइनमध्ये लामो समयसम्म एउटामा खराबी आएपछि एउटा मात्र सञ्चालन हुँदा सदरमुकामभरि विद्युत् आपूर्ति गर्न सकिएको छैन। 

अहिले नहरमा बालुवा भरिएपछि एक मात्र टर्वाइनसमेत बन्द गर्नुपरेको हो। टर्वाइन थप्नका लागि नेपाल विद्युत् प्राधिकरणमा माग गरे पनि फाइल अड्किएको बताइएको छ। विद्युत् सेवा अवरुद्ध भएसँगै स्वास्थ्य सेवा कार्यालय र अन्य ठाउँमा समस्या उत्पन्न भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले बताए।

त्यस्तै स्वास्थ्य सेवा कार्यालयले ४० केभिएको जेनेरेटर खरिद गर्ने प्रक्रियामा रहेको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख अमरसिंह शाहीले जानकारी दिए। केन्द्रीय प्रसारण लाइन नपुगेको डोल्पामा यही जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत्बाट काम हुँदै आएको छ। दुई सय किलोवाट क्षमताको यो आयोजनाबाट यहाँका एक हजार २५० घरधुरीले सेवा लिने गरेका छन्। 

दुई वर्षअघि यही विद्युत् ६ महिना अवरुद्ध भएको थियो। विद्युत्को नहरमा सुक्खा पहिरो जाँदा विद्युत् सेवा बन्द भएको थियो। नेपाल विद्युत् प्राधिकरणको ५५ लाख लागतमा भत्केको नहर मर्मत गरी पुनः विद्युत् आपूर्ति गरिएको थियो। 

प्रकाशित मिति: ०७:०१ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्